कुमार लघु, ख्वप
भाइबहिनीहरू नमस्कार, शुभ बिहानी।
आज बिहान नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनावी घोषणापत्र अध्ययन गर्ने अवसर मिल्यो। मेरो टोलमा दिदीबहिनी तथा स्थानीय कार्यकर्ताहरूले घरदैलोमा आएर नमस्कार गर्दै घोषणापत्र, मत नमूना पत्र र पठनयोग्य सामग्री वितरण गर्नुभयो। उहाँहरूले मत मादल चिन्हमा राख्न आग्रह गर्नुभयो र परिवारका सदस्यहरूसँग पनि छलफल गर्न अनुरोध गर्नुभयो। मैले आफ्नो क्षमताअनुसार सानो आर्थिक सहयोग पनि प्रदान गरेँ।
लोकतन्त्रमा नागरिकले लिने मात्र होइन, दिन सक्ने योगदान पनि गर्नुपर्छ भन्ने मेरो विश्वास हो। हामीले लामो समयदेखि यस्ता विषयमा छलफल गर्दै आएका छौं। नेमकिपाले चुनावलाई वर्गसंघर्ष र राजनीतिक संघर्षको रूपमा व्याख्या गर्दै आएको छ। उहाँहरूका अनुसार चुनाव जनताको चेतनास्तर नाप्ने “व्यारोमिटर” हो। त्यसैले चुनावमार्फत जनतालाई सचेत र प्रशिक्षित गर्ने काममा पार्टी सक्रिय देखिन्छ।
पार्टीले संसदको महत्वबारे पनि जनतामाझ स्पष्ट पार्दै आएको छ। संसद केवल पद र शक्ति प्राप्त गर्ने थलो मात्र होइन, जनताको पीरमर्का सम्बोधन गर्ने, देशका लागि आवश्यक नीति–नियम निर्माण गर्ने र राष्ट्रहितका विषयमा बहस गर्ने जीवन्त सदन हो। योग्य र प्रतिबद्ध प्रतिनिधिहरूलाई बहुमतले विजयी गराएमा देशलाई आवश्यक ऐन, नीति र संरचना निर्माण गर्न सकिन्छ भन्ने धारणा नेमकिपाको रहेको छ।
हामी मतदाताले कुनै पनि राजनीतिक दलको घोषणापत्रलाई गहिराइमा अध्ययन गर्नुपर्छ। सम्भव भएसम्म तुलना गरेर कुन घोषणापत्र यथार्थपरक छ, कसले स्पष्ट योजना र तथ्य प्रस्तुत गरेको छ भन्ने मूल्याङ्कन गर्नुपर्छ। मजदुर–किसान परिवारका छोराछोरीहरूले घोषणापत्र पढेर आफ्ना अभिभावक, आफन्त र समुदायसँग छलफल गर्नु आवश्यक छ। सचेत मतदाताले मात्र सही निर्णय गर्न सक्छन्।
विगत र वर्तमान सरकारहरूले देश सञ्चालनका नाममा वैदेशिक ऋण लिएर कर्मचारीको तलब धान्ने र जनतालाई ऋणको भार बोकाउने काम गरेको आरोप पनि नेमकिपाले उठाएको छ। यस्ता विषयमा जनतालाई स्पष्ट जानकारी दिनु लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण पक्ष हो।
भक्तपुरको सन्दर्भमा, भक्तपुर नगरपालिका ले प्रस्ताव गरेको ख्वप विश्वविद्यालय विधेयक संसदको पहिलो अधिवेशनमै पारित गराउन पहल गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ। समाजलाई बौद्धिक र सक्षम बनाउन आवश्यक विश्वविद्यालय स्थापना र व्यवस्थापनमा पार्टीले संसदमा आवाज उठाउने बताएको छ।
मतदान केवल औपचारिक प्रक्रिया होइन, यो जिम्मेवारी पनि हो। समय निकालेर घोषणापत्र अध्ययन गर्ने, चुनावी सभामा सहभागी हुने र आफ्नो मत कसलाई दिने भन्ने विषयमा विचारपूर्वक निर्णय लिनु आवश्यक छ। संसदमा जाने प्रतिनिधि प्रधानमन्त्री वा मन्त्री बन्नका लागि मात्र होइन, जनताको म्यान्डेट अनुसार काम गर्नका लागि पठाइन्छन्।
मेरो व्यक्तिगत धारणा अनुसार, घोषणापत्रमा उल्लेखित एजेन्डा र विगतको प्रतिबद्धतालाई आधार मानेर यसपटकको मत नेमकिपालाई दिन उपयुक्त ठान्दछु। अन्ततः निर्णय गर्ने अधिकार जनताकै हातमा सुरक्षित छ। जसले घोषणापत्रमा स्पष्ट, व्यवहारिक र देशहितका बुँदा प्रस्तुत गर्छ र काम गर्ने विश्वास दिलाउँछ, उसैलाई मत दिनु लोकतान्त्रिक अधिकार र कर्तव्य दुवै हो।
असललाई छनोट गर्दा मन सन्तुष्ट रहन्छ। यही शुभेच्छासहित सम्पूर्ण मतदातालाई सचेत, जिम्मेवार र सफल मतदानको शुभकामना।
धन्यवाद।


















