काठमाडौं, असोज २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आगामी कात्तिक १९ र २० गते राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
परिवार कल्याण महाशाखाका निर्देशक विवेककुमार लालले असोज २० गते हस्ताक्षर गरी पठाएको पत्र अनुसार २०८२/०८३ को पहिलो चरण अन्तर्गत हुने उक्त कार्यक्रम यसअघि तोकिएको मिति कात्तिक २३ र २४ बाट परिमार्जन गरी अघि सारिएको हो।
पत्रमा उल्लेख अनुसार चाडपर्व तथा तिहारको समयलाई मध्यनजर गर्दै मन्त्रालयको निर्णय अनुसार उक्त कार्यक्रम तोकिएको नयाँ मितिमा सञ्चालन गरिने जनाइएको छ।
महाशाखाले स्वास्थ्य मन्त्रालयका सबै प्रदेश कार्यालय, सामाजिक विकास मन्त्रालयहरू, स्वास्थ्य निर्देशनालयहरू तथा ७७ जिल्लास्थित जनस्वास्थ्य कार्यालयहरूलाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिएको छ।
यसअघि पनि यस्ता राष्ट्रिय भिटामिन ए वितरण कार्यक्रमहरू वर्षमा दुई पटक सञ्चालन हुँदै आएका छन्।


















