भक्तपुर, असोज १८ । भक्तपुरमा जारी ४५औं नेपाल भाषा साहित्य तःमुंज्याको पहिलो दिनको कार्यक्रम आज विविध प्रस्तुति र विचार विमर्शका साथ सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेले “साहित्यमा पनि राजनीति हुन्छ” भन्दै साहित्य र राजनीतिबीचको सम्बन्धबारे महत्वपूर्ण मन्तव्य दिनुभयो। उहाँले राजनीति नगर्ने मानिस समाजमा एक्लो पर्ने बताउँदै भने, “अरूको राजनीति भन्नेको शासनसत्ता हातमा लिनु र अकूत सम्पत्ति कमाउनु हो, तर हामीले जनताको वास्तविक सेवाको लागि राजनीति गर्नुपर्छ।”
बिजुक्छेले तल्लो वर्गका बालबालिकालाई व्यवहारिक शिक्षा आवश्यक रहेको बताउँदै, शोषक सामन्तहरूले कहिल्यै जनताको हितमा काम नगर्ने टिप्पणी गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य रविन्द्र खर्बुजाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज घिमिरे, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार यचु जोशी, डा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ इन्जिनियर रामविन्दु श्रेष्ठ, डा. विरेन्द्र कायस्थ, कवयत्री बेबी झा, त्रिवि अंग्रेजी विभाग प्रमुख तारालाल श्रेष्ठ, कवयत्री इन्दिरा प्रसाई, साहित्यकार नरेन्द्रराज प्रसाई, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, तःमुंज्या केन्द्रीय समितिका सदस्य आशाकुमार चिकबन्जार, र सभापति राजेन्द्रप्रसाद हाडा लगायतले कला, संस्कृति र साहित्यको महत्वबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा गोपाल बासुकला, किसान अग्रज बिकुनारायण माता, लोककवि संघरत्न शाक्य, कनक बाजा गुरु जगतलाल खर्बुजा, र गायक तथा संगीतकार रवि हाडा रहेका थिए। सम्मान नेमकिपाका केन्द्रीय सदस्य का. रोहितले प्रमाणपत्र र नगद पुरस्कारसहित प्रदान गर्नुभएको थियो।
साहित्य, कला र संस्कृतिसँग सम्बन्धित विविध विषयमा प्रस्तुतिहरूसमेत कार्यक्रमका आकर्षण बनेका थिए।


















