भक्तपुर, श्रावण २६ । लिच्छविकालीन कालदेखि प्रचलनमा रहेको भक्तपुर नगरपालिका वडा न ५ स्थित चण्डेश्वरी अजिमाको १२ वर्षे जात्रा यस वर्ष पनि गाईजात्राको भोलिपल्ट, परम्पराअनुसार भव्यरूपमा सम्पन्न गरिएको छ। चाँपको काठबाट निर्मित चासुः अजिमाको मूर्तिलाई विशेष खटमा विराजमान गराई, चासुखेलस्थित चण्डेश्वरी मन्दिरबाट सुरु गरी सुकुलढोका, पाँचतले मन्दिर, टौमढी, नासमना, तेखापुखु, इताछे, खौमा, दरबार स्क्वायर, चोछे, भोलाछे, साकोलान, क्वाठण्डौ, गछे, सुर्यमढी, दत्तात्रय, गोलमढी, सुकुलढोका हुँदै गाइजात्रा प्रदक्षिणा मार्ग भएर टोलटोलमा नगर परिक्रमा गराइएको हो।
इतिहासविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार, यो जात्रा आनन्ददेवको समयमा सुरु भएको प्रमाण अध्ययनमा फेला परेको छ। लिच्छविकालमा सुरु भएको यो परम्परा आजसम्म निरन्तरता पाइरहेको छ।
स्थानीय बुद्धकृष्ण कर्माचार्यका अनुसार, यसअघि विसं २०४२, २०५२, २०६२ र २०७२ सालमा १२ वर्षे जात्रा मनाइएको थियो। २०४२ सालअघि भने ३० वर्षसम्म यो जात्रा सञ्चालन हुन सकेको थिएन। निलबाराही क्षेत्रमा धान नपाक्ने समस्या आएपछि २०४२ सालमा पुनः सुरु गरिएको इतिहास छ।
चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकका अनुसार, २०५२ सालमा विपत्ति अन्त्यको कामना गर्दै जात्रा गरिएको थियो भने २०६२ सालमा मुख्य देवता चोरी भएपछि नयाँ मूर्ति बनाएर जात्रा सम्पन्न गरिएको थियो। त्यस्तै, २०७२ सालको महाभूकम्पपछि सोही वर्ष भाद्रमा पनि विशेष पूजा सहित १२ वर्षे जात्रा मनाइएको थियो।
यस वर्ष पनि विशेष पूजा र विधिवत् कार्यक्रमसहित चण्डेश्वरी अजिमाको खट नगर परिक्रमा गराइएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जानकारी दिनुभयो। शक्तिकी देवीको रूपमा पूजनीय चासुः अजिमाको दर्शन र आशीर्वाद लिन हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।


















