भक्तपुर, जेठ १७ ।

भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा नाक, कान र घाँटीको निःशुल्क परीक्षण शिविर शनिबार दत्तात्रय आधारभूत विद्यालयमा सम्पन्न भयो। भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले सरकारले स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको बताउनुहुदैं भक्तपुर नगरपालिकाले जनताको आधारभूत स्वास्थ्यलाई जोड दिदै आइरहेको चर्चा गर्नुभयो । जनतामा स्वास्थ्य सेवा पहँुच वृद्धि गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले प्रत्येक वडा वडामा स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको समेत उहाँले बताउनुभयो ।
एक फरक प्रसंगमा उहाँले स्वास्थ्य शिविरहरुमा नगरवासीहरु समय समयमा नआउने गरेको गुनासो राख्नुहुदैं रोगको गम्भीर असर भएपछि मात्र अस्पताल धाउने गरेकोले यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
आ.व. २०८२/८३ मा निति तथा कार्यक्रम तयार गर्नको लागि नगरवासीहरुले वडा मार्फत योजना छनौट गरि नगरपालिकाका जानकारी दिन समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले स्वास्थ्य शिविरमा नगरवासीले प्रत्यक्ष सहभागीता जनाउनुपर्ने र यसले गर्दा भविष्यमा हुने सक्ने रोगहरुको पहिचान हुने समेत बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप अस्पताले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नेपाल सरकारसँग २६ करोड लिनुपर्ने बताउनुहुदैं नगरवासीहरुको आवश्यकतालाई मध्यनजर गर्दै निकट भविष्यमा ख्वप अस्पतालमा सिटि स्क्यान राख्ने पहल भइरहेको समेत जानकारी गराउनुभयो ।
ख्वप अस्पतालले नगरवासीको मात्र नभएर देशभरिकै जनतालाई सेवा पुर्याउदै आइरहेको चर्चा गर्नुहुदैं प्रत्येक वडा वडामा स्वास्थ्य केन्द्रहरु निर्माण गरी जनताको सेवा गर्दै आइरहेको पनि बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का महिला वडा सदस्य तथा कार्यपालिका सदस्य छोरीमैया सुजखु प्रजापतिले पनि बोल्नुभएको थियो भने शिविरमा १३० जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप अस्पतालको प्राविधिक सहयोग रहेको थियो भने निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
