भक्तपुर, बैशाख १३ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले कुनै पनि उद्यमी व्यवसायीहरु सफल हुनको लागि प्रविधिको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा बिहीबारदेखि सञ्चालन भएको तीनदिने ई कमर्श तालिमको शनिबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री थापाले प्रविधिको विकासले धेरै समय लाग्ने काम छिनभरमै हुने गरेको भन्दै प्रविधिलाई सही तरिकाले, सकारात्मक परिणाम आउने गरी प्रयोग गर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशका हरेक अस्पतालमा गुणस्तरीय सेवा दिनका लागि सोहीअनुसार काम गर्दै आएको बताए । उनले अस्पतालमा हुने गरेको भीडलाई कम गर्नको लागि अनलाइन टिकटको व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी दिए । अहिले मानिसहरु ३० प्रतिशत रोग सर्ने रोगका कारण बिरामी हुने गरेको र ७० प्रतिशत भन्दा बढी नसर्ने रोगका कारण बिरामी हुने गरेको भन्दै सबैले आफ्नो स्वास्थ्यलाई मध्यनजर गरी खानपिनमा ध्यान दिनुपर्ने तथा स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिए ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले महिला उद्यमीहरुको लागि सञ्चालित ई कमर्श तालिम अवश्य पनि फलदायी हुनेमा विश्वास व्यक्त गरे । कार्यालयको आ.व. २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत भक्तपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्यम गरिरहेका र भविष्यमा उद्यम गर्न चाहने महिलाहरुको लागि ई कमर्श तालिम आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा संघसँग सहकार्य गरी युवा, महिला लक्षित अन्य सिपमूलक तथा उद्यमशीलता विकासका तालिमहरु सञ्चालन गर्ने बताए ।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले ई कमर्श तालिमबाट सिकेका ज्ञान र सिपलाई तालिममा मात्र सीमित नगरी आफ्नो व्यापार व्यवसायको प्रवद्र्धन र विकासमा प्रयोग गर्नुहुन आग्रह गरिन् । उनले तालिममा सहभागी महिला उद्यमीहरुले ई कमर्श तालिमबाट सिकेका ज्ञानलाई प्रयोग गरेमा व्यापार व्यवसायको अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको साना तथा मझौता उद्योग समितिकी सभापति लक्ष्मी खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सभापति सुन्दर शिल्पकार, भक्तपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष विश्वराम दुवाल, कार्यसमिति सदस्य एवं तालिम तथा सिप विकास उपसमितिका संयोजक पृथ्वीभक्त प्रजापतिले तालिमबाट सहभागी महिला उद्यमीहरुको प्रविधिसम्बन्धी व्यवसायिक दक्षता एवं क्षमता वृद्धि भएको विश्वास गर्दै सिकेका ज्ञानको भरपूर फाइदा उठाउन आग्रह गरे ।
प्रशिक्षार्थीहरुको तर्फबाट सजिना प्रजापति र रजनी श्रेष्ठले ई कमर्श तालिम आजको युगमा एकदमै महत्वपूर्ण रहेको भन्दै आफूहरुले धेरै ज्ञान हासिल गरी लाभ प्राप्त गरेको बताइन् ।
यसैबीच, प्रमुख अतिथि स्वास्थ्यमन्त्री थापा लगायत अन्य अतिथिहरुले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
तालिममा प्रमुख प्रशिक्षक सौरभ चालिसे र सहायक प्रशिक्षक रोहण पौडेल सहभागीहरुले प्रशिक्षण दिएका थिए । गत बिहीबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकी उद्योग सचिव बिनु बज्राचार्यले उक्त ई कमर्श तालिमको उद्घाटन गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















