Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home खेलकुद नेपालमै पहिलोपल्ट अन्तरनगर जिम्नास्टिक प्रतियोगिता भक्तपुरमा चैत २३ देखि हुँदै

नेपालमै पहिलोपल्ट अन्तरनगर जिम्नास्टिक प्रतियोगिता भक्तपुरमा चैत २३ देखि हुँदै


भक्तपुर, चैत्र २१ ।
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३, २४ र २५ गतेसम्म हुने अन्तरनगर जिम्नास्टिक प्रतियोगिताबारे बिहीबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रमा उल्लेख प्रतिबद्धताअनुसार एक एक गरी पूरा गर्ने काम गर्दै आएको बताउँदै भक्तपुर नपाले प्रत्येक वर्ष वर्ष अन्तर नगर प्रतियोगिता, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, खेलाडीको मनोबल बढाउन खेलाडी सम्मानलगायतका गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो ।
अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सबै सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ र तन्दुरुष्त बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नगरपालिकाले ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आएको बताउँदै नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
खेलकुदलाई मानव जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै उहाँले भक्तपुर नपाले आफ्नो क्षमताअनुसारको खेलकुद पूर्वाधार विकास गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
युवाहरुलाई नेपालमै योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुनुपर्ने बताउँदै उहाँले युवाहरुको बढ्दो विदेश पलायनले देश विकासको आधार झन् झन् कमजोर हुँदै गएको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर जिम्नास्टिक प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार, तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको र सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था समेत नगरपालिकाले गरेको अवगत गराउनुभयो ।
उहाँले निर्वाचनको बेला जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताउँदै पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल, पाँचांै वर्ष खो खो र गत वर्ष महिला कबड्डी खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको लागि १५१ सदस्यीय आयोजक मूल समिति र १३ वटा विषयगत उपसमिति गठन भएको जानकारी गराउँदै भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, कराँते, बक्सिङ, टेबुलटेनिस, जिम्नास्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमबाट प्रतिनिधित्व गरेका पत्रकारहरूले प्रतियोगिताबारे आफ्ना जिज्ञासा व्यक्त गरेका थिए ।
अन्तर नगर जिम्नाष्टिक प्रतियोगितामा हालसम्म काठमाडांै महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, भक्तपुर नगरपालिका, चाँगुनरायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका, बाग्लुङ नगरपालिका, रामग्राम नगरपालिका, बनेपा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, वालिङ्ग नगरपालिका, किर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नाागार्जुन नगरपालिका गरी १८ वटा महानगरपालिका तथा नगरपालिकाहरू प्रतियोगितामा भाग लिन नाम दर्ता गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments