भक्तपुर, चैत ५ । भक्तपुर नगरपालिका वडा नं १० कार्यालयको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र शसक्तिकरण भन्ने नाराका साथ उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाकक्षमा मंगलबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले नेपाल क्रान्तिकारी महिला संघको नारा अनुसार समाजवाद विना श्रमिक महिला मुक्ति नहुने भएकोले नेमकिपाको लक्ष्य समाजवाद हुँदै साम्यवाद पुग्ने भएकोले समाजवादी आन्दोलन अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको पुँजीवादी व्यवस्थामा गरिब झन झन गरिब हुने र धनी झनझन धनी हुने भएकोले व्यवस्था परिवर्तन गर्न जनता राजनैतिक रुपले सचेत र संगठित नभएसम्म असम्भव हुने बताउनुभयो । समाजवादी व्यवस्थामा जन्मदेखि मृत्युसम्म राज्यको दायित्व हुने बताउँदै संविधानमा समाजवाद उन्मुख भएता पनि शासक दलहरुले त्यसअनुसार काम नगरेको गुनासो व्यक्त गर्नुभयो ।
उहाँले महिला अधिकारको नाममा पुरुषलाई दमन गर्न नहुने अमेरिकाबाट सुरु भएको कोपन हेगनमा ११५ बर्ष अगाडि संसारका महिला भेला भई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाई रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि मिरा दुगुजुले नेमकिपाको आन्दोलनले रुपरंग धेरै फेरिएको बताउँदै नयाँ पुस्ता राजनीतिक सचेतनामा युवा जोश जागर नभएको बताउनुभयो । उहाँले राजनीतिक सचेतना नभए अधिकार दुरुपयोग हुने बताउँदै नारि पुरुष बीचको लडाई नभई राज्यको विभेद र दमनबाट मुक्त हुन अन्तर्राष्ट्रिय महिला क्लारा जेटकिन, जेनि मार्क्सको जीवनी अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपा १० का इन्चार्ज लक्ष्मी प्रसाद चवाल, जितेन्द्र मुनंकर्मी, तारादेवी शाक्यले पनि बोल्नु भएको थियो ।


















