भक्तपुर, चैत ३ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा साइनिङ इङ्गलिस सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले विद्यालयको स्मारिका विमोचन गर्दै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले विद्यालय व्यवस्थापन समितिले शिक्षकहरूलाई बरोबर तालिम दिने व्यवस्था गर्नु आवश्यक छ भन्नुभयो ।
अभिभावकहरूको बरोबर भेला बोलाएर शिक्षा दिनु जरूरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई घर र विद्यालयमा पत्रु तयारी खानेकुरा खुवाउनु हुन्न; चिसो पेय पदार्थ खुवाउनु हुन्न; तयारी फलफूल र अन्य रस खुवाउन नहुनेबारे अभिभावक र शिक्षकहरू सचेत हुनु जरुरी छ ।”

विद्यार्थीलाई विद्यालय र घर दुवै ठाउँमा सफा गरेर बस्ने, पढ्ने कोठा सफा गरेर राख्ने संस्कार सिकाउनु जरूरी रहेको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “विद्यालयले छोरा र छोरी दुवैलाई घरको काममा आमा–बुबालाई सहयोग गर्न सिकाउनु आवश्यक छ; विद्यार्थीहरूलाई राम्रो अक्षर र शुद्ध भाषा, चित्रकला पनि सिकाउनु जरुरी छ ।”
उहाँले भन्नुभयो, “विद्यालयले आवश्यक शिक्षक व्यवस्था गरी विद्यार्थीहरूलाई नाच्ने, गाउने, बजाउनेलगायत विदेशी भाषा, नेपालकै गुरुङ, मगर, तामाङ भाषा, तराईको भोजपुरी, मैथिली, अवधी भाषासमेत सिकाउने व्यवस्था गर्नु आवश्यक छ ।”
सरकारले सहकारी संस्थालाई यसको सिद्धान्त र उद्देश्यअनुसार सञ्चालन गर्न नलगाउँदा सर्वसाधारण जनताको खर्बौँ रुपैयाँ बचत ठगी भएको सार्वजनिक भएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “अहिले ३१ हजार सहकारी संस्थामध्ये १७ हजार सहकारी संस्था खारेजीमा पर्ने सरकारको निर्णय पनि बाहिरियो । ती सहकारी संस्थामा जनताको बचत ठगी भएको कसरी फिर्ता हुने हो सार्वजनिक भएको छैन ।”
उहाँले भन्नुभयो, “अहिले ३१ हजार सहकारी संस्थामध्ये १७ हजार सहकारी संस्था खारेजीमा पर्ने सरकारको निर्णय पनि बाहिरियो । ती सहकारी संस्थामा जनताको बचत ठगी भएको कसरी फिर्ता हुने हो ? सार्वजनिक भएको छैन ।”
सांसद सुवालले भन्नुभयो, “सहकारी संस्थामा जोताहा किसान र गरिब वर्ग सदस्य हुने, उनीहरूलाई कृषि, घरेलु र कुटीर व्यवसायमा सहयोग गर्ने सहकारी संस्थाको सिद्धान्त हो । सरकारले यो सिद्धान्तलाई बेवास्ता गरी ‘लिमिटेड’ बनाएर सहकारी संस्था चलाउन दिएको हुँदा जनताको बचत खर्बौँ रुपैयाँ ठगी गर्नेहरूलाई मौका मिलेको हो । यसबारे शिक्षक र अभिभावकहरू सचेत हुनुु आवश्यक छ ।”
विद्यालयका उत्कृष्ट अभिभावकलाई कदर पत्रद्वारा सम्मान गरिएको उक्त कार्यक्रममा सुनिता ह्यौँमिखा, सुस्मिता पुरी र सुरज श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
चाँगु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले शिक्षामा बढ्दो खाडललाई पुर्नुपर्नेमा जोड दिँदै स्थानीय तहले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्छ भन्नुभयो ।
नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, वरिष्ठ हास्य कलाकार जितु नेपालले बालबालिकाको लागि अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुन्छ भन्नुभयो ।
चाँगु नपा वडा नं. ४ का वडाध्यक्ष रोजबहादुर तामाङ, विद्यालय सञ्चालक विक्रम ढुकुछुले पनि शुभकामना मन्तव्य दिनुभयो ।
विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले विद्यालयको सर्वाङ्गीण विकासको लागि विद्यालयले शैक्षिक क्रियाकलाप गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेसन प्याब्सन भक्तपुरका सल्लाहकार एवं अधिवक्ता राधाकृष्ण भण्डारी, उत्प्रेरक तुल्सीहरि प्रजापति र शिक्षिका शर्मिला खायमलीले पनि बोल्नुभएको थियो ।



















