भक्तपुर, फागुन २४। बाग्मती प्रदेशसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सृजना सैंजुले स्थानीय महिलाहरूको राजनैतिक चेतना वृद्धिमा समुदायमा आधारित सहकारी संस्थाहरूको अहम् भूमिका रहेको बताउनुभयो ।
विश्वकर्मा वचत तथा ऋण सहकारी संस्थाले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा आयोजित ‘महिला अधिकार संरक्षणमा समुदायमा आधारित सहकारी संस्थाको भूमिका’ विषयक अन्तरक्रिया तथा महिला सदस्य भेलामा उहाँले महिलालाई वर्गीय चेतना र शोषणविरुद्ध आवाज उठाउन सक्षम जनशक्ति विकास गर्न यस किसिमको भेलाले मद्दत पुऱ्याउने बताउनुभयो ।
उहाँले सहकारी संस्थाले आफ्नो उद्देश्यअनुसारको बचत सङ्कलन र ऋण परिचालनको गतिविधि गर्दा महिलालाई
प्राथमिकता दिई सीप उपयोगका लागि उत्प्रेरित गर्न नियमित अनुगमन गर्न सुझाव दिनुभयो ।
विश्व प्रसिद्ध महिला नेतृहरूको जीवनी अध्ययनले सदस्यहरूमा तत्कालीन र वर्तमान राजनैतिक सामाजिक वातावरणको तुलनात्मक ज्ञान हासिल हुने उल्लेख गर्दै उहाँले संविधानले ३३ प्रतिशत महिला सहभागिता,
सुनिश्चित गरेको भए तापनि सक्षम महिलाहरूको अभावका कारण केही सीमित महिलाहरूले मात्र अवसर पाइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष शमशेरवहादुर ज्याख्वले संस्थाको गतिविधिमा सहभागी भए व्यक्तिगत चेतनास्तर तथा सीप विकासको अवसर मिल्ने हुँदा अन्य कार्यक्रममा पनि सहभागी हुनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णभाइ ज्याख्व, सचिव राम छुस्याकी र महिला उपसमिति संयोजक सुलोचना
गाईजुले आ-आफ्नो विचार राख्नुभयो ।


















