भक्तपुर, फागुन १९ । भक्तपुरको प्रसिद्ध बिस्का जात्राका लागि ५५ हात लामो दुईवटा योसिङ् सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ ।
तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त योसिङ् ढालेर भव्यरूपमा जात्रा मनाउने चलन छ ।
चित्तपोलको सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो योसिङ् मानिसले हातले तानेर ल्याउने मल्लकालीन परम्परा रहे पनि विगत केही वर्षयता गुठी कार्यालय भक्तपुरले लगाउने ठेक्काअनुसार डोजरले तानेर ल्याउन थालिएको हो ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख खिमा वलीले योसिङ् ल्याउन बोलपत्र आह्वान भइ बिस्का जात्रा सहयोग समितिले ठेक्का पारेर दुईवटा योसिङ् ल्याएको बताए ।
उनले भने, “बिस्का जात्राको तयारी सुरू गरिसकेका छौँ । योसिङ् ल्याउन तीन लाख ४८ हजारको ठेक्का लगाएर मात्र ल्याइपुर्याएको छ आज हामी त्यसको अनुगमन गर्दैछौँ । रथ निर्माण कार्य सुरू भएको छ । यस वर्ष भैरव र भद्रकालीको रथको सबै पाङ्ग्रा नयाँ बनाउने काम सुरू भएको छ ।”
विगतमा योंसि द्य: योंसिख्यसम्म मान्छेले नै तानेर लाने प्रचलन रहेकोमा पछिल्ला केहि वर्षदेखि भने डोजरको सहायताले तानेर लाने गरिएकोमा आलोचित बन्दै गैरहेको छ ।


















