भक्तपुर, पुष २० । चाँगुनारायण नगरपालिकाको आयाेजना भएको वागमती प्रदेशस्तरीय प्रथम धिमय् बाजा प्रतियोगितामा ताथलीकाे ताथली धिमय् खल: प्रथम हुन सफल भएको छ ।
साे प्रतियोगितामा ताथलीकै तैकाबु गणेश सांस्कृतिक समूह दाेस्राे र भक्तपुरको निओ फ्युजन बाजा समूह तेस्रो भएकाे छ । सान्त्वनातर्फ देउला धिमे बाजा खल, बनेपा भएको छ ।
प्रतियोगितामा विजेता टाेली ताथलीले नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या पाएकाे छ भने द्वितीय भएकाे तैकाबु गणेश सांस्कृतिक समूहले रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीय भएकाे निओ फ्युजनले रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सान्त्वनाले रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान पाएकाे छ ।
प्रतियोगिताको समापन समारोहमा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष साेम प्रधान, ५ का जयन्द्र खड्का, वडा नं. ८ का वडा अध्यक्ष जनक खत्री, वडा नं. ९ का वडा अध्यक्ष एवम् कार्यक्रम संयाेजक गणेश त्यात लगायतले पुरस्कार वितरण गरेका थिए ।
नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिकाको उक्त कार्यक्रम आयाेजना गरिएको हो ।


















