
भक्तपुर, पुष २०। चाँगुनारायण नगरपालिकाको आयोजनामा शनिबार भएको वाग्मती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले मानिसको बोली–व्यवहार, भेषभूषा, लवाइखवाइ, बानी–व्यहोरा, गीत–सङ्गीत आदि संस्कृति भएको बताउनुभयो ।
“गीत–सङ्गीत नदेखिने कुनै शक्ति छ भनी गाउने–बजाउने अन्धविश्वासको विषय होइन, यो विज्ञान नै हो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “हावासँगै रूखबिरूवाको पात हल्लिएको र खोलामा बगेको पानीको आवाज, धातुबाट निस्केको आवाज, चराचुरूङ्गीको आवाज आदि सुनेर मानिसले सङ्गगीतको विकास गरेको हुनुपर्छ । नयाँ पुस्ताले सङ्गीत साङ्केतिक भाषासहित सिक्नु जरूरी छ ।”
“संसारका कतिपय देशमा २–३ सय वर्ष अघिदेखि नयाँ पुस्तालाई ५–७ वर्षको उमेरदेखि गीत सङ्गीत सिकाइएको भेटिन्छ । दुई सय वर्ष अगाडि रूसका नयाँ पुस्तालाई फ्रान्सेली, स्वीस, अङ्ग्रेजी, स्वीडेनी, जर्मन, ल्याटिन भाषामा पोख्त बनाइएको र कतिपय नयाँ त्यस्ता पुस्ताको गणित, इतिहास, साहित्य, चित्रकला, सङ्गीत, नृत्यकला, तरवारबाजीमा रूचि समेत भएको भेटिन्छ”, सांसद सुवालले थप्नुभयो ।
नेपालका विद्यालय र कलेजहरूमा नयाँ पुस्तालाई त्यसरी नै तयार गर्नुपर्ने जरुरी भएको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “सङ्घीय सरकारले यी विषयमा बेवास्ता गरे पनि चाँगुनारायण नगरपालिकाले अगुवाइ गर्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले २०५६ सालयता ख्वप शैक्षिक संस्थाहरू सञ्चालन गरेर ७७ वटै जिल्लाका ४३ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान ग¥यो । अहिले भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालन गरी डाक्टरी शिक्षासमेत १०–१५ लाखमा दिने तयारी गर्दै छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको दुई इन्जिनियरिङ कलेजमा चाँगुनारायण नगरपालिकाका २०८ जना विद्यार्थीले भर्ना पाए भने मध्यपुर थिमि नगरपालिकाका ५४९ जना र सूर्यविनायक नपाका ४३७ जना विद्यार्थीले भर्ना पाए ।”
नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने राजनीति अगाडि बढाएको हुँदा भक्तपुर नगरपालिकालाई यो सफलता प्राप्त भएको सांसद सुवालले बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो, “पालैपालो प्रधानमन्त्री भएकाहरू दोहो¥याई तेहो¥याई प्रधानमन्त्री हुनु नै ठुलो ठान्छन् । एक करोड हाराहारी युवालाई वैदेशिक रोजगारीमा पठाउने, १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई आमा–बुबाको घर–खेत बेचेर वा बन्धक राखेर विदेश पढ्न पठाउने र नेपालमा ज्येष्ठ नागरिकलाई तातो पानी एक गिलास खुवाउने मान्छे नरहने अवस्था ल्याउने सरकारहरू कसरी जनताका हुन सक्लान् ?
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा चानपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा ५५ टोलीले भाग लिएको आयोजकले बताएको छ ।

















