भक्तपुर, श्रावण २८ ।भक्तपुर नगरपालिका वडा नं. २ मा धानबालीमा लाग्ने रोग – किरा ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष एवं भ.न.पा कृषि समितिका संयोजक राजकृष्ण गोराले जसरी मानिसको शरीर स्वस्थ्य रहन पोषणयुक्त आहारको आवश्यकता पर्छ त्यसरी नै धानबालीलाई उचित गोड्मेल गरी रोगको पहिचान गरेपछि मात्र बिषादीको सहि प्रयोग भएमा बाली राम्रो हुने बताउनु भयो।
माटोको गुणस्तरमा र्हास भइ उत्पादन न्यून भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाद्वारा माटोको गुणस्तर नाप्न माटो परिक्षण कार्य गर्दै आइरहेको चर्चा गर्दै उत्पादन बृद्धि गर्न, माटोको गुणस्तर बढाउन भ.न.पा द्वारा उत्पादित कम्पोष्टमल प्रयोगमा जोड दिनु भयो ।

भ.न.पा. वडा नं. २ का अध्यक्ष हरि प्रसाद बासुकलाले सम्पदा संरक्षण लगायत कृषि उत्पादन सम्बन्धी अध्ययन अनुसन्धान गर्नेलाई प्राथमिकता दिँदै आएको चर्चा गर्नु भयो। साथै बढ्दो युवा बिदेशिने प्रवृतिलाई न्यूनीकरण गरी गर्न युवा उद्यमशील ऋण लगानी र कृषी ऋणको व्यवस्था हुदै आएको बताउनुभयो ।
साथै उहाले बढ्दो शहरीकरणसगै व्यवस्थित आवासको लागि योजना संचालन गर्दै आइरहेको चर्चा गर्नु भयो । कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजुले धानबालीमा लाग्ने किरा न्यूनिकरण गर्न बाली लगाउनु पूर्व नै माटोको गुणस्तर परिक्षण गर्न आवश्यक रहेको चर्चा गर्दै बढी रासायनिक मलको प्रयोगबाट धानवाली राम्ररी सप्रिनुको सट्टा बाली बिग्रने अधिक सम्भावना भएकोले किसानहरू सचेत हुनुपर्ने, विषादी प्रयोग गर्नुपूर्व सावधानी अपनाउनु पर्ने चर्चा गर्दै धानबालीमा लाग्ने विभिन्न रोग तथा किरा नियन्त्रण प्रक्रिया बारे प्रस्तुती दिनु भयो। साथै कार्यक्रममा रत्नकाजी नायभारी, श्याम सुन्दर मातां र मन्जु लाखाजुले पनि बोल्नु भएको थियो ।


















