भक्तपुर, बैशाख २८। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मासु पसल अनुगमन गरियो । स्थानीयको मासु पसलको स्तरोन्नोत्ति नभएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा मुकेशोर शाहीको भगवति मासु सप्लाई २०७६ साल पछिदेखि नविकरण नगरेको, तराजु नविकरण नगरेको, पसल फोहर भएको, एप्रोन प्रयोग नगरेकोले तराजु एक थान जफत गरी तीन दिन भित्र पसल नविकरण गर्न, तराजु नविकरण गर्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, मासु धुलो र झिंगाले नभन्किने गरी सिसाको बाकस बनाएर राख्न वा जाली छोप्न र नगरपालिका कार्यालयमा उपस्थित हनु निर्देशन दिई विग्रेको बासी मासु २ केजि जफत गरी नष्ट गरियो ।
त्यस्तै अफराज मियाको मासु पसल दुई बर्षदेखि नविकरण नगरेको, मासु झिंगा र धुलोले भन्किने गरी राखेको, मुल्य सूचि नराखेको, तराजु नविकरण नगरेको, फोहर भएको, एप्रोन प्रयोग नगरेकोले मासु पेल्ने मेशिन एक थान जफत गरी नगरपालिका कार्यालयमा उपस्थित हुन तीन दिन भित्र पसल नविकरण गर्न, तराजु नविकरण गर्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, मासु धुलो र झिंगाले नभन्किने गरी सिसाको बाकस बनाएर राख्न वा जाली छोप्न र नगरपालिका कार्यालयमा उपस्थित हनु निर्देशन दिई विग्रेको बासी मासु १ केजि ८०० ग्राम जफत गरी नष्ट गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै न्यू महेश्वरी हाइजेनिक मिट सप नविकरण गर्न, पशु बध गर्दा जीवित पशुले नदेख्ने गरी व्यवस्था गर्न, तराजु नविकरण गर्न, मासु धुलो र झिंगाले नभन्किने गरी जाली राख्न र राँगोको सफा गरेको भुँडी र फोहर ढल निकासमा नपठाउन निर्देशन दियो ।
त्यस्तै महेश्वरी बधशाला सरसफाइमा ध्यान दिन र राँगोको सफा गरेको भुँडी र फोहर ढल निकास र खोलामा नपठाउन निर्देशन दियो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघ भक्तपुरका राजु त्वानाबासु र पशु सेवा कार्यालयका पार्वती योञ्जन, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।