बैशाख १५, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ७ वाचुत्व स्थित स्टार वाचनालयको कार्य समिति पुनः गठन तथा युवा भेला कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा स्टार वाचनालयका सल्लाहकार समितिका अध्यक्ष श्री कृष्ण भक्त ख्याजूले स्टार वाचनालय स्थापनको इतिहासबारे प्रष्ट पार्नुहुदै वि.सं. २०४२ सालमा स्थापना भएको वाचनालयले स्थापनाकाल देखि नै स्थानीय रुपमा हुदै आएका विभिन्न शैक्षिक एवम् साँस्कृतिक गतिविधिमा पुर्याएको योगदानहरुका विषयमा चर्चा गर्नुभयो ।
साविक ६ वडाका निवर्तमान वडा अध्यक्ष एवं सल्लाहकार रामेश्वर प्रजापतिले नव गठित कार्य समितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुहुदै अहिलेका युवाहरुको पढाइको स्तर बढ्दै गएको र त्यसको सदुपयोग गर्दै समाज र देशको विकासमा योगदान पुर्याउनु पर्नेमा जोड दिनुभयो । भेलामा वाचलनालयका सल्लाहकार एवं नेमकिपा वाचुत्व, खँचा एकाई समितिका अध्यक्ष बद्रीराम छुस्याबागजुले वाचनालयको गर्दै आएका गतिविधिहरुकौ चर्चा गर्दै आगामी दिनहरुमा पनि समय सापेक्ष परिष्कृत रुपमा शेक्षिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरुलाई अगाडि बढाउदै लेजानु पर्नेमा जोड दिनुभयो । युवा शक्ति, जोश र जागरलाई सहि ठाउँमा लगाएमा सजिलै समाज विकास हुनमा कसैले रोक्न नसक्ने बताउनुहुदै आफ्ना अग्रजहरुको मार्गनिर्देशन सहित अगाडि बढ्नुपर्ने बताउनु भयो ।

स्टार वाचनालका अध्यक्ष श्रीराम धोजूले वाचनालयको प्रगति तथा आर्थिक प्रतिवेदन पेश गर्नुहुदै सामाजिक संस्थालाई आत्मनिर्भर बनाउन अक्षय काेषको व्यवस्थाको लागि आवश्यक पहल गर्नुपर्नेमा जाेड दिनुभयो । २०७२ सालको विनाशकारी भूकम्प पश्चात वाचनालयले गर्दै आएका शैक्षिक, सामाजिक र साँस्कृतिक गतिविधिहरु थप्प भएकोमा नव गठित कार्य समितिबाट सुचारु हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
भेलाबाट श्रीराम धोजुको अध्यक्षतामा रहेको कार्य समिति भङ्ग गरी किशोर गोसाईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरियो। भेलामा महेश्वरी बासुरी बाजाका प्रतिनिधि अन्जन छुस्याबागले पनि बोल्नु भएको थियो ।


















