स्वास्थ्यसम्बन्धी तथ्यांक प्रस्तुतीकरण तथा जनचेतनामूलक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न

0
295

२०८० । वैशाख २८ गते, बिहीबार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागअन्तर्गत पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक अध्ययनको सिलसिलामा भक्तपुर नगरपालिका वडा नं. ७ (साबिकको वडा नं. ६ र ७) का घरहरुमा गई स्वास्थ्यसम्बन्धी विभिन्न तथ्यांक संकलन कार्य सम्पन्न गरेको छ ।

उक्त एक महिने सामुदायिक अध्ययनका क्रममा संकलित विभिन्न स्वास्थ्यसम्बन्धी तथ्यांक प्रस्तुतीकरण तथा जनचेतनामूलक नाटक प्रदर्शनी कार्यक्रम बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले नागरिकहरुको स्वास्थ्यसम्बन्धी जानकारी लिन घरघरमा नर्सहरु पठाउँदै नगरबासीहरुको स्वास्थ्य तथ्यांक संकलन गर्दै आएको बताउँदै नगरबासीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न रोगहरुसम्बन्धी स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

नर्सिङ पेशा आफैमा सेवाभाव र बिरामीहरुको स्वास्थ्य रक्षासँग सम्बन्धित संवेदनशील पेशा रहेको बताउँदै यस्तो कार्यमा आबद्ध हुने नर्स तथा चिकित्सकहरुलाई सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान दिनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

घरदैलो नर्सिङ कार्यक्रमले नगरको सबल र कमजोर पक्ष थाहा पाउन मद्दत पुगेको साथै नर्समा सेवामुखी भावनाको विकास गर्न सामुदायिक स्वास्थ्य शिक्षा घरदैलो कार्यक्रम सञ्चालन आवश्यकता रहेको बताउँदै उहाँले नर्सिङ पेशालाई मर्यादित र सेवामुखी बनाउनु आजको आवश्यकता हो भन्नुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले वडाको तथ्यांक संकलनले वडाको वास्तविक अवस्था, समस्या तथा चुनौती थाहा पाउन मद्दत पुगेको बताउँदै वडाबासी जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन भक्तपुर नपा वडा नं. ७ स्थित खँचामा स्वास्थ्य केन्द्र निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो ।

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले बढ्दो उमेरसँगै रोगको जोखिम बढ्दै जाने हुँदा रोगलाई हेलचेक्र्याइँ गर्न नहुने बताउँदै वडामा रहेका सक्रिय जनसंख्याले वडाको विकास र प्रगतिमा सकारात्मक भूमिका पुग्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका विभागीय प्रमुख इश्वरी डंगोल, विद्यार्थी दिपिका माक र सहाना लागेजुलगायतले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले सामुदायिक स्वास्थ्यअन्तर्गत वडा नं. ७ मा संकलन गरेको वडाको शैक्षिक, पारिवारिक, पेशागत, स्वास्थ्य, रोजगारीलगायतको अवस्थाबारे तथ्यांक प्रस्तुतीकरणका साथै विद्यार्थीहरुले जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले वडाका ३९० घर परिवारको तथ्यांक संकलन गरी त्यहाँको सामाजिक, शैक्षिक, पेशागत प्रगति र चुनौतीहरुबारे प्रस्तुतीकरण देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here