माघ ५, भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ५० आैं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक संघ सूर्यविनायक नगर समितिको आयोजनामा शुक्रबार सूचना र प्रविधि विषयमा गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले ज्ञान र सूचना संकलनमा नयाँ पुुस्ता अगाडि रहे तापनि सही र गलत छुट्टयाउन नसक्ने हुँदा भ्रामिक सूचनाबाट विश्लेषणात्मक रूपमा सजग गराउन शिक्षकले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै अमेरिकी प्रजातन्त्रले सूचना प्रविधिको गलत प्रयोगबाट विश्वमा प्यालेस्टाइन- इजरायल, रुस -युक्रेन, ईरान र ईराक बीच युद्ध र आतंक मच्चाएको बताउनुभयो । उहाँले पुँजीपतिहरूले नाफाको लागि इज्जत र परिवार समेत बन्धकीमा राख्ने बताउँदै विश्वमा अशान्तिको सन्त्रास फैलाउन सूचना प्रविधिलाई हतियारको रूपमा गलत प्रयोग भइरहेको बताउनुभयो ।
सोही कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले प्रस्तुत शिक्षा विधेयकमा शिक्षकलाई मत दिने अधिकार मात्रै दिएर देश र जनताको हितको लागि लेख रचना प्रकाशन गर्न बञ्चित गरेको बताउँदै योग्य र क्षमतावान शिक्षक उत्पादनको लागि समय सापेक्ष विभिन्न तालिम संचालन गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य चक्रबहादुर चाकतूले पेशागत सुरक्षासँगै समाज सेवा गर्ने देशभक्त विद्यार्थी तयार गर्न र विद्यालयको डाटा तथ्यांक संकलनमा शिक्षकहरूले सूचना प्रविधिको प्रयोगलाई समेत विशेष ध्यान दिएर विद्यालयको प्रगतिमा लाग्नुपर्ने सुझाव दिनुभयो।

नेपाल क्रान्तिकारी शिक्षक संघ सूर्यविनायक नगर समितिका अध्यक्ष केपी छुस्याकीको सभापतित्वमा सम्पन्न भएकोे उक्त गोष्ठीमा इन्जिनियरिङ समाजका रमेश प्रजापतिले सूचना र प्रविधिको विषयमा सहजीकरण गरेका थिए । उत्तम सञ्जेलले संचालन गरेको उक्त गोष्ठीमा १३ वटा आधारभूत तह र २२ वटा माध्यमिक तह गरी ३५ वटा विद्यालयका शिक्षकशिक्षिकाको उपस्थिति रह्यो ।


















