भदौ १५
१६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भक्तपुर नगरपालिकाले पुस्तकालयका क्षेत्रमा भएका विविध गतिविधि तथा पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ आज प्रवचन कार्यक्रम आयोजना ग¥यो ।
‘समाज विकासमा पुस्तकालयको भूमिका’ विषयमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले अन्तर्राष्ट्रिय स्तर र नेपालका पुराना पुस्तकालयका विशेषताहरूबारे जानकार गराउँदै पाठकको विश्वास जित्नु नै पुस्तकालय स्थापना र सञ्चालनको सफलता भएको बताउनुभयो ।

वडागत रुपमा फरक फरक विशेषतायुक्त पुस्तकालयको व्यवस्था हुनुपर्नेमा जोड दिँदै उहाँले पुस्तकालयकर्मीहरू अध्ययनशील र नयाँ नयाँ पुस्तकबारे जानकार हुनुपर्ने बताउनुभयो ।
पुस्तकालयले पाठकहरूबीच समयसान्दर्भिक छलफल र अन्तरक्रियाहरू सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले पुँजीवादी समाजमा समाजवादी विचार प्रवाहमा पनि पुस्तकालयको उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो ।
पुस्तकालयले नयाँ पुस्ताको सेवा गर्न र उनीहरूको बौद्धिक स्तर विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा नगरभित्रका सामुदायिक पुस्तकालयहरूको स्तरोन्नतितर्फ नपाले विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनज्योति पुस्तकालय ई लाइब्रेरीको रुपमा सञ्चालन भएसँगै भक्तपुरमा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनको निम्ति काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै विद्यार्थीहरूको पठन संस्कृतिको विकासको लागि पुस्तकालय निर्माण, आर्थिक सहयोग र व्यवस्थापनमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
सामान्य नागरिकलाई महान् बनाउन पुस्तकालयको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै उहाँले समाज परिवर्तनको लागि अध्ययन तथा अनुसन्धान महŒवपूर्ण पक्ष भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले जनज्योति पुस्तकालयलाई सुविधासम्पन्न पुस्तकालयको विकास गरी राष्ट्रिय स्तरको पुस्तकालयको रुपमा स्तरोन्नति गर्ने नपाको उद्देश्य रहेको सोही कार्यक्रममा बताउनुभयो ।

त्यस्तै उपप्रमुख रजनी जोशीले पुस्तकालयलाई छलफल र अन्तरक्रियाको थलोको रुपमा विकास गर्नुपर्ने बताउँदै पुस्तकालय समाजको ऐना हो र यसले नागरिकहरूको बौद्धिक स्तर उकास्न सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो ।

स्वागत मन्तव्य दिँदै भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले समाज रुपान्तरणमा पुस्तकालयको प्रत्यक्ष भूमिका रहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले पुस्तकालय अध्ययन स्थल मात्र नभई स्रोत केन्द्र पनि भएको बताउँदै पुस्तकालय विनाको समाज अर्थहीन भएको बताउनुभयो ।

कार्यक्रममा जनज्योति पुस्तकालयका शाखा अधिकृत भूपाल मुलले पुस्तकालय समाज तथा राष्ट्रकै ऐना भएको बताउँदै शिक्षण सिकाइ कृयाकलापहरूमा पुस्तकको प्रयोग गर्ने बानीको विकास गर्ने हुँदा पुस्तकालयको ठूलो महत्व र आवश्यकता रहेको बताउनुभयो ।
जनज्योति पुस्तकालयको हालसम्मको मुख्य उपलब्धी तथा प्रगति विवरण प्रस्तुत गर्दै उहाँले जनज्योति पुस्तकालयमा हालसम्म १ हजार ४ सय ९० जना सदस्य रहेको र पुस्तकालयको पुस्तक तथा पत्रपत्रिकाको प्रयोग गर्ने पाठकको संख्या १० हजार ८४६ जना रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा प्रगति पुस्तकालयका रबिन्द्रप्रसाद कुसी, सहिद राजकुमार स्मृति पुस्तकालय, ब्यासीका कृष्णप्रसाद सुवाल, ख्वप इन्जिनियरिङ कलेज लिबालीका जसतारा कोजु, बागीश्वरी मावि च्याम्हासिंहका रत्नशोभा फैजुले पुस्तकालयका विविध गतिविधिबारे अवगत गराउँदै नगरका सार्वजनिक पुस्तकालयको उपलब्धी र चुनौतीहरूबारे अवगत गराउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
प्रवचन कार्यक्रमअघि प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नपाद्वारा सञ्चालित जनज्योति पुस्तकालयमा स्थलगत निरीक्षण गर्नुभई पुस्तकालय विकासको लागि रचनात्मक सुझावहरू समेत दिनुभएको थियो ।


















