भक्तपुर, जेठ २६ – गःपली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. ४ को आर्थिक वर्ष २०८३/०८४ का लागि योजना छनोट तथा बजेट तर्जुमा कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवाल प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारमूलक तालिम तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले सचेत, शिक्षित तथा संस्कारी नागरिकको सक्रिय सहभागिताका कारण विकास निर्माणका कार्यहरू प्रभावकारी रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै वडावासीलाई धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले जनसहभागितामार्फत हाडाछेँ निर्माण कार्य न्यून लागतमा सम्पन्न भएको जानकारी दिँदै आगामी बजेटमा खोला सुधार, करिडोर निर्माण तथा मंगलतीर्थ क्षेत्रमा लामोपाटी निर्माणलाई समावेश गरिने बताउनुभयो। गःपली क्षेत्रमा अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण, ढल निकास तथा गल्ली–बाटो व्यवस्थापनका समस्याहरू समाधान गर्न स्थानीयवासी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले नगरपालिकाले समाजवाद उन्मुख विकास अवधारणाअनुसार भक्तपुरलाई आदर्श, सभ्य र द्वन्द्वरहित समाजका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेको बताउनुभयो।
उहाँले नगरस्तरीय योजनाअन्तर्गत सूर्यविनायक चोकदेखि रामदेवी कम्प्लेक्स हुँदै बाराही पुलसम्मको सडक क्षेत्रमा रहेका नाङ्गा विद्युत् तार तथा सडकबीचका विद्युत् खम्बा हटाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै सूर्यविनायक चोकदेखि डोकाफल्चासम्मको राजमार्गको उत्तरतर्फ सब–ट्र्याक निर्माण गरी सडक कालोपत्रे गर्न सम्बन्धित निकायलाई पहल गर्नुपर्ने धारणा राख्नुभयो।
अध्यक्ष प्रजापतिले राममन्दिर र बाराही क्षेत्रमा वर्षेनी हुने डुबान समस्या समाधानका लागि नापी–नक्साअनुसार खोला सुधार, हरियाली प्रवर्द्धन तथा करिडोर निर्माण गर्नुपर्ने माग राख्नुभयो। त्यस्तै विभिन्न सडक खण्डमा सडकबत्ती तथा सीसी क्यामेरा जडान, भूमिगत विद्युत् तार विस्तारका क्रममा क्षति पुगेका ढुङ्गा छपाइ सडकको पुनर्निर्माण, फुटपाथ व्यवस्थापन तथा हरियाली प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।
उहाँले गःपली गणेश मन्दिरदेखि डोकाफल्चासम्मको ढुङ्गा छपाइ सडकमा भारी सवारी साधन प्रवेश निषेध गर्न सूचना बोर्ड तथा अवरोधक पोल जडान गर्नुपर्ने, अव्यवस्थित पार्किङ हटाई सःशुल्क पार्किङ व्यवस्था गर्नुपर्ने तथा राजमार्ग क्षेत्रका फुटपाथ पसललाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा कोषाध्यक्ष रविन छुस्याकी, सचिव रविन्द्र श्रेष्ठ तथा पूर्व जिल्ला शिक्षा अधिकारी धुर्वनारायण जोन्छेले पनि टोल विकास, भावी योजना तथा विकास निर्माणका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रममा स्थानीयवासी दिनेशबहादुर धौबञ्जार, अस्तलक्ष्मी श्रेष्ठ, तुल्सीमाया नागा, सङ्गीता शुद्धकार, रमेश मानन्धर, सुमन मानन्धर र सरोज शाहीलगायतले स्थानीय समस्या तथा विकाससम्बन्धी सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रमले आगामी आर्थिक वर्षका लागि वडा तथा नगरस्तरका विकास योजनाहरू तय गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
आर्थिक वर्ष २०८३/०८४ का लागि योजना छनोट तथा बजेट तर्जुमा कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















