बागमती प्रदेश बक्सिङ्ग संघको अध्यक्षमा रामचन्द्र थापामगर सर्वसम्मत निर्वाचित

0
257

काठमाण्डौं, बैशाख २६ । बागमती प्रदेश बक्सिङ्ग संघको दोस्रो वार्षिक साधारण सभा तथा निर्वाचन अधिवेशनबाट आठौं साफका स्वर्ण पदक विजेता रामचन्द्र थापामगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा अनिल प्रसाद दाहाल, सचिवमा रामकृष्ण प्रजापति तथा कोषाध्यक्षमा नयन बहादुर भण्डारी चयन भएका छन्। त्यस्तै सदस्यहरुमा अनुशा थापामगर, संगीता राना, कृष्ण बहादुर कुमाल, हरि खतिवडा र अमित मानन्धर रहेका छन्।

कार्यक्रमको उद्घाटन पूर्व संस्कृति तथा पर्यटन मन्त्री एवं प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उहाँले बक्सिङ्ग संघको साधारण सभा र अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै खेलाडीहरूले संघर्षबाट प्राप्त उपलब्धि अझ फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बक्सिङ्ग खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना बोकेको भए पनि सरकारले आवश्यक प्राथमिकता नदिँदा खेलकुद क्षेत्र विस्तारै कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो। साथै, खेल पूर्वाधार, कवर्ड हल निर्माण र खेलाडीका लागि राहत तथा सुविधा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

विशेष अतिथि मान बहादुर भण्डारीले बाधा अड्चन पन्छाएर अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गर्दै बागमती प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले योग्य खेलाडीको निष्पक्ष छनोट र इमानदार प्रणालीको आवश्यकता औंल्याउनुभयो।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशकी सदस्य कल्पना खड्काले १३ जिल्ला संघ विस्तार गर्दै बक्सिङ्ग खेलको विकास र उन्नति हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य रामकृष्ण प्रजापतिले दिनुभएको थियो भने सञ्चालन रेफ्री सन्तोष आलेमगरले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका उपाध्यक्ष ओम नारायण श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, महासंघका उपाध्यक्ष राम गिरी, उपाध्यक्ष किरण श्रेष्ठ, सचिव पुष्करराज पन्त, केन्द्रीय सदस्य रेखा थापामगर, मुख्य प्रशिक्षक प्रकाश थापामगर तथा पूर्व मुख्य प्रशिक्षक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित समितिलाई श्याम रोक्काले सपथ ग्रहण गराउनुभएको थियो भने प्रमाणपत्र वितरण कल्पना खड्काले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here