भक्तपुर, २०८२ वैशाख २५ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कम्प्युटर तालिमको आवश्यकता र महत्वलाई मध्यनजर गरेर एसईई दिएका विद्यार्थी लक्षित तीन महिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको बताउँदै यसबाट देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने ३ महिने आधारभूत कम्प्युटर तालिममा सहभागी प्रशिक्षार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले तालिममा सहभागी भई दक्षता हासिल गर्न शुभकामना दिँदै वर्तमान समयमा कम्प्युटरको ज्ञानविना कुनै पनि काम गर्न असहज हुने हुँदा विद्यार्थीको लागि यो आधारभूत तालिम हो भन्नुभयो ।
एसईईका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनको लागि आफ्नो रुचि र क्षमताअनुसारको विषय रोज्न विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले विद्यार्थीहरुमा अनुशासन अति आवश्यक विषय भएको बताउनुभयो । अनुशासित विद्यार्थीहरुले मात्र सफलता हासिल गर्ने बताउँदै उहाँले युवाहरुलाई विदेश होइन, आफ्नै देशमा बस्न प्रेरित गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपाले तालिम सञ्चालन गर्नुको मुख्य उद्देश्य नै विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु हो भन्दै उहाँले विद्यार्थीहरुलाई सफलता हासिल गर्न ध्यान केन्द्रित भएर अगाडि बढ्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले एसईईका विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणमा नपाले सँधै समन्वय र सहयोग गर्ने बताउँदै भक्तपुरको सभ्यता र पहिचान जोड्ने माध्यम नयाँ पुस्ता हो भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कम्प्युटर शिक्षा विद्यार्थीहरुको आधारभूत ज्ञान भएको बताउँदै नयाँ पुस्तालाई आईटीमा अभ्यस्त गराउनु आजको आवश्यकता हो भन्नुभयो ।
तालिमका प्रशिक्षक रमेश प्रजापतिले नपाले तालिम सञ्चालन गरी नयाँ पुस्तामा गरेको लगानीलाई फलदायी बनाउन प्रशिक्षार्थीहरु नियमित रुपमा तालिममा उपस्थित भई योग्यता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभयो ।
तीन महिने आधारभूत कम्प्युटर तालिमका प्रशिक्षार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















