भक्तपुर, २१ चैत । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सञ्चालन गरिएको मिठाई तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार सहकारीको सभाकक्ष, जगातिमा सम्पन्न भएको छ।
कार्यक्रम सल्लाहकार एवं अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि प्रजापतिले कार्यक्रममा बोल्दै यस्ता सीपमूलक तालिमले व्यक्तिलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सहकारी संस्था केवल आर्थिक कारोबारमा सीमित नरही सामाजिक तथा आर्थिक रूपान्तरणको माध्यम बन्ने उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञानले साना उद्यम सञ्चालन र परिवारको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नेपाली परम्परागत मिठाईहरू हाम्रो सांस्कृतिक पहिचानसँग जोडिएका उल्लेख गर्दै यस्ता सीपलाई आधुनिक बजारसँग जोड्न सके रोजगारी सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। साथै सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार सिर्जना गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजल्यको सभापतित्वमा सम्पन्न भएको थियो। उहाँले ज्ञान जति बाँड्यो त्यति बढ्ने भएकाले यस्ता तालिमले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले स्वागत मन्तव्य व्यक्त गर्दै सीपविना जीवन अपुरो हुने र सीपले स्वरोजगारमा टेवा पुग्ने बताउनुभयो। सहकारीले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले सिकेको सीपलाई व्यवहारमा उतारे मात्र त्यसले पूर्णता पाउने धारणा राख्नुभयो।
कार्यक्रम संस्थाका व्यवस्थापक दयाराम तजलेले सञ्चालन गर्नुभएको थियो भने सल्लाहकार रामकृष्ण छुस्यावागले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा १७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो भने प्रशिक्षक रूपमा रुपेश महतोले प्रशिक्षण दिनुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















