तुमचो दुगुरे चोखा आवास क्षेत्रमा खानेपानी विषयमा उपभोक्ता भेला सम्पन्न

0
172


भक्तपुर, चैत्र ७ गते ।
भक्तपुर नगरपालिका वडा नं. ९ स्थित तुमचो दुगुरे चोखा आवास क्षेत्रका स्थानीयवासीबीच खानेपानी वितरण सम्बन्धी विषयमा शनिबार छलफलसहित उपभोक्ता भेला सम्पन्न भएको छ।
तुमचो दुगुरे चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको आयोजनामा सम्पन्न भेलामा नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीलाई समान रूपमा खानेपानी उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लगायत सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र छलफल भइरहेको जानकारी दिनुभयो।
नगर प्रमुख प्रजापतिले खानेपानी स्रोत व्यवस्थापन, ट्याङ्की तथा प्रशोधन केन्द्र निर्माण र वितरण प्रणाली सुधारका लागि नगरपालिकाको बजेटमार्फत केयूकेएललाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। साथै स्थानीयको साथ र सहकार्यमा पाइप विस्तार तथा मर्मत सुधार कार्य अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा वडाध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष रविन्द्र ज्याख्वले हालसम्म आवास क्षेत्रमा ४८८ धारा जडान गरिएको जानकारी दिनुभयो। बस्ती विस्तारसँगै बढ्दो मागलाई ध्यानमा राख्दै केयूकेएल भक्तपुर वितरण शाखासँग थप आपूर्ति व्यवस्थापनबारे छलफल भइरहेको उहाँले बताउनुभयो।
समितिका उपाध्यक्ष कृष्णभक्त लवजूले आफ्नै पूर्वाधारमार्फत खानेपानी वितरण गर्दा स्थानीयलाई राहत पुगेको उल्लेख गर्दै डिप बोरिङबाट पानी उत्पादनमा आएको कमीका कारण केही समस्या देखिएको बताउनुभयो।
कार्यपालिका सदस्य तथा समितिकी कोषाध्यक्ष छोरीमैया सुजखूले पानीको अभावका कारण जनगुनासो बढ्नु स्वाभाविक रहेको बताउँदै समस्या समाधानका लागि समिति र नगरपालिकाबाट भइरहेका पहलहरूको जानकारी गराउनुभयो।
नेमकिपा तुमचो दुगुरे चोखा एकाइ समितिका अध्यक्ष जेएन प्रजापतिले थप स्रोत व्यवस्थापन र वितरण प्रणाली सुधारका लागि स्थानीयसँग व्यापक छलफल गरी सुझाव संकलन गरिएको बताउँदै त्यसकै आधारमा निर्णय गरिने विश्वास व्यक्त गर्नुभयो।
भेलामा स्थानीय उपभोक्ताका तर्फबाट पुष्पनारायण श्रेष्ठ, उद्धव दाहाल, विष्णु कुमार प्रजापति, सतिश प्रजापति र धर्मलक्ष्मी लघुलगायतले मेलम्चीको पानी वितरणका लागि केयूकेएलसँग समन्वय गर्नुपर्ने, पानीको स्रोत विस्तारमा जोड दिनुपर्ने तथा शुद्धिकरण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
खानेपानी अभावका समयमा उपभोक्ता समितिमार्फत डिप बोरिङ गरी पानी वितरण गरिएकोमा स्थानीयवासीले धन्यवादसमेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here