गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा सम्पन्न

0
428

भक्तपुर, २३ फागुन।
गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै सल्लाहकार रामकृष्ण प्रजापतिले अर्धवार्षिक समीक्षा कार्यक्रमको मुख्य उद्देश्य सहकारीले वार्षिक नीति, कार्यक्रम तथा बजेटअनुसार काम गरिरहेको छ वा छैन भन्ने मूल्यांकन गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार समीक्षा प्रक्रियामार्फत संस्थाले प्रगति गरिरहेको छ कि अधोगतितर्फ गइरहेको छ भन्ने विषयमा समेत स्पष्ट आकलन गर्न सकिन्छ। सहकारीका सदस्यहरू नै संस्थाको प्राण भएको उल्लेख गर्दै उहाँले सदस्यको सक्रिय सहभागिता बिना सहकारीको अस्तित्व सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।
उहाँले सहकारीको सञ्चालन ऋणबाट प्राप्त हुने ब्याज आम्दानीमा आधारित हुने भएकाले सञ्चालन खर्च व्यवस्थापन, विभिन्न कार्यक्रम सञ्चालन तथा शेयर लाभांश वितरणका लागि ऋण नै संस्थाको मेरुदण्ड भएको बताउनुभयो। सहकारीको वास्तविक अवस्था विश्लेषण गर्ने प्रभावकारी उपाय “पर्ल्स विश्लेषण” रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक मन्दीको अवस्थामासमेत संस्था १२ करोड रुपैयाँभन्दा बढी कारोबार गर्न सफल भएकोमा सञ्चालक तथा कर्मचारीलाई बधाई दिनुभयो। साथै सहकारीले दिएको योगदान मात्र नभई सहकारीलाई आफूले के योगदान गर्न सकिन्छ भन्ने सोचका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले पदीय जिम्मेवारीअनुसार काम गर्नु सबै पदाधिकारीको दायित्व भएको बताउनुभयो। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सञ्चालक सदस्य तथा लेखा सुपरीक्षण समितिका सदस्यहरूले आ–आफ्नो भूमिकाअनुसार जिम्मेवारी पूरा गर्नुपर्ने विषयमा उहाँले प्रकाश पार्नुभयो।
कार्यक्रममा कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर उकास्दै आदर्श समाज निर्माण गर्ने उद्देश्यअनुसार काम गरिरहेको छ वा छैन भन्ने मूल्यांकनका लागि अर्धवार्षिक समीक्षा आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार सदस्य तथा संस्थाको आवश्यकतालाई ध्यानमा राख्दै योजना तथा बजेट तयार गरिएको थियो।
सरकारी ऐन, नियमावली तथा कार्यविधिअनुसार तयार पारिएको वार्षिक नीति, कार्यक्रम, योजना तथा बजेट साधारणसभाबाट पारित भएपछि सोही आधारमा संस्था अगाडि बढिरहेको छ वा छैन भन्ने विषय समीक्षा गर्न आवश्यक भएको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०८२/८३ का लागि १३ करोड ५० लाख रुपैयाँको कारोबार लक्ष्य तथा ४० लाख ५० हजार रुपैयाँ नाफाको लक्ष्य निर्धारण गरिएको जानकारी दिँदै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धिमा सहकारीले ध्यान दिइरहेको बताउनुभयो।
विगत छ महिनामा सहकारीको अवस्था कस्तो छ, आय–व्यय बजेटअनुसार मिलिरहेको छ वा छैन, योजना अनुसार लक्ष्य प्राप्त भएको छ कि छैन, प्राप्त नभए आगामी छ महिनामा के–कस्ता कार्यक्रम अघि सार्ने भन्ने विषयमा समीक्षा तथा छलफल गर्नु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। साथै सहकारी सिद्धान्त, मूल्य र मान्यताअनुसार संस्था सञ्चालन भइरहेको छ कि छैन भन्ने विषयमा पनि अर्धवार्षिक समीक्षामा विस्तृत छलफल गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापति, न्हुछेँभक्त कोजु, सचिव सत्यराम ज्ञामरु, लेखा समिति संयोजक हरिकृष्ण प्रजापति, सांस्कृतिक उपसमिति संयोजक रामकृष्ण लावजु, महिला तथा बालबालिका उपसमिति संयोजक चम्पा ज्ञामरु, युवा तथा खेलकुद उपसमिति संयोजक सिद्धान्त प्रजापति, व्यवसाय प्रवर्द्धन उपसमिति संयोजक राजु सिं बजिकों तथा प्रबन्धक गौतम कुटुवले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो।

संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिको आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, संस्थापक सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here