भक्तपुर, २२ फागुण । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार जगातीस्थित संस्थाको तालिम हलमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा आयोजित गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजापतिले वर्तमान आर्थिक मन्दीका बाबजुद संस्था स्थापना गरी व्यवस्थित र प्रगतिउन्मुख रूपमा सञ्चालन गरिरहेकोमा सञ्चालक समिति र व्यवस्थापन पक्षलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले समीक्षा कार्यक्रम संस्थाको प्रगति र कमजोरीलाई मूल्याङ्कन गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै सदस्यता विस्तार, ऋण परिचालन र त्यसको असुली, सुरक्षित लगानीजस्ता पक्षमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
उहाँले सहकारीको समग्र अवस्थाको अध्ययन गर्न “PEARLS विश्लेषण” प्रभावकारी उपाय भएको उल्लेख गर्दै सहकारीहरूले मजदुर, किसान तथा सर्वसाधारणबाट संकलित बचतलाई बैंकमा मात्र थुपारेर राख्नुभन्दा नयाँ पुस्तालाई रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो। साथै सहकारी क्षेत्रमा देखिएका चुनौती, अवसर, कमजोरी र सफल पक्षको अध्ययन गरी सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सहकारी संस्थाले समुदायको समग्र विकासका लागि सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण देखिएको आर्थिक अन्योलका बीच पनि सहकारी संस्थाले आफ्नो बजेट, नीति तथा कार्यक्रमअनुसार काम गर्दै प्रगतिउन्मुख रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार पुस मसान्तसम्म संस्थाको कुल कारोबार ५३ करोड ५० लाख ४५ हजार २६६ रुपैयाँ पुगेको छ।
संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रामकृष्ण छुस्यावाग र व्यवस्थापक दयाराम तजलेले पनि धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सल्लाहकार राजभक्त फैजूको समेत उपस्थिति रहेको थियो।


















