भक्तपुर, फल्गुण २ – डोलेश्वर महादेव मन्दिर मा महाशिवरात्री पर्व २०८२ लाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आइतबार (फल्गुण ३ गते) मनाइने महाशिवरात्री पर्वका लागि मूल समारोह समिति गठन गरी आवश्यक व्यवस्थापन सम्पन्न गरिएको हो।
सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित डोलेश्वर महादेवलाई भारतको उत्तराखण्डमा रहेको १२ ज्योतिर्लिङ्ग मध्येको एक केदारनाथको शिर भागका रूपमा २०६६ साल भाद्र ६ गते जगद्गुरु भीमाशंकर लिङ्ग शिवाचार्य महास्वामीबाट घोषणा गरिएपछि यहाँ संरक्षण तथा विकासका कार्य तीव्र रूपमा अघि बढाइएको समितिले जनाएको छ।
🔹 १८ करोडभन्दा बढी सहयोग संकलन
समितिका अनुसार हालसम्म आर्थिकतर्फ करिब रु १७ करोड ५९ लाख ७० हजार र भौतिक सहयोगतर्फ रु ५९ लाख ५४ हजार गरी जम्मा रु १८ करोड १९ लाख २४ हजार सहयोग प्राप्त भएको छ।
निर्माण तथा अन्य कार्यमा करिब रु १९ करोड ४८ लाख ३६ हजार खर्च भइसकेको छ। आम्दानी–खर्चबीचको अन्तर अक्षयकोष, बचत कोष, दायित्व तथा बैंक ऋणमार्फत पूर्ति गरिएको जनाइएको छ।
🔹 सम्पन्न भएका संरचनाहरू
मन्दिर परिसरमा बिष्णुपादुका क्षेत्र, गणेश मन्दिर, नन्दी (बशाहा), मनकामना मन्दिर, १०८ शिवलिङ्ग, नाग, त्रिशूल–डमरु, तुलसी मठ, बिष्णु मन्दिर, सूर्य मन्दिर, सरस्वती मन्दिर, बुद्ध मन्दिर लगायतका संरचना निर्माण सम्पन्न भएका छन्।
मूल मन्दिरमा तामाको झल्लर जडान, १६ वटा पिलरमा तामा पाता मोर्ने, प्रवेशद्वार निर्माण, ढुंगा छाप्ने, रंगरोगन तथा सेरामिक टायल जडान कार्य सम्पन्न भइसकेको छ।
धर्मशाला नम्बर २ को निर्माण करिब ९० प्रतिशत पूरा भएको छ भने धार्मिक पुस्तकालय सञ्चालनमा आइसकेको छ।
🔔 महाशिवरात्री विशेष व्यवस्था
महाशिवरात्री पर्वका दिन करिब रु ९ लाख खर्च अनुमान गरिएको छ।
भक्तजनले रु १,१०० को रसिद काटी पञ्चस्नान गर्न पाउने व्यवस्था गरिएको छ।
मन्दिरमा आएका साधुसन्तलाई ५ दिनसम्म भोजन, दक्षिणा, कम्बल र धोती प्रदान गरिनेछ। प्रति साधु करिब रु ३,५०० बराबर सहयोग उपलब्ध गराइने समितिले जनाएको छ।
साधुसन्तलाई क, ख, ग वर्गमा वर्गीकरण गरी क्रमशः
क वर्ग: रु १,१०५
ख वर्ग: रु ७००
ग वर्ग: रु ५५५
दक्षिणासहित एक थान कम्बल र धोती प्रदान गरिनेछ।
धुनी बाल्न आवश्यक दाउराको व्यवस्थामा रणशेर गण सूर्यविनायकले सहयोग गरेको छ।
🚑 सुरक्षा, स्वास्थ्य र सेवा व्यवस्था
प्रसाद वितरण: श्री मानव सेवा संघ, कुलेश्वर काठमाडौं
सुरक्षा: महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी चौकी डोलेश्वर
ट्राफिक व्यवस्थापन: महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी
स्वास्थ्य शिविर: रणशेर गण सूर्यविनायक
रक्तदान कार्यक्रम: नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा
मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म गर्भगृह प्रवेशका लागि खुला रहनेछ।
समितिले मन्दिरको प्रचार–प्रसारमा सहयोग गर्ने सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सृजनात्मक तथा समालोचनात्मक भूमिका अपेक्षा गरेको जनाएको छ।
डोलेश्वर महादेवमा महाशिवरात्री २०८२ को तयारी पूरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















