भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औँ साधारण सभा सम्पन्न

0
186


भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औँ तथा महिला उद्यमी समितिको ३३ औँ वार्षिक साधारण सभा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री बिन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले देशको मेरुदण्डका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगको उत्थानका लागि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। प्रविधिमैत्री वर्तमान समयमा ई–कमर्स, घरेलु उत्पादन मेला, कोशेली घरजस्ता कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा पनि व्यवस्थित कोशेली घर स्थापना गर्न आगामी बजेटमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै बागमती प्रदेशको पहिचान हस्तकलासँग जोडिएकाले निकट भविष्यमा ‘हस्तकला दिवस’ मनाउने विषयमा छलफल भइरहेको जानकारी दिँदै उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याहरू जिल्ला स्थित उद्योग तथा वाणिज्य कार्यालयमार्फत मन्त्रालयमा पेश गर्न आग्रह गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले स्वदेशी वस्तु खरिद निर्देशिका जारी गरे पनि सरकार आफैंले त्यसको पालना नगर्दा साना उद्यमीहरू झन् ओझेलमा परेको गुनासो गर्नुभयो। कोरोना महामारीको कठिन समयमा ठूला उद्योग बन्द भए पनि घरेलु तथा साना उद्योगले अर्थतन्त्र धानेको स्मरण गराउँदै यस्ता उद्योगलाई राज्यले अझै उचित पहिचान नदिएकोप्रति दुःख व्यक्त गर्नुभयो।
त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं संघका पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले घरेलु तथा साना उद्योगको उत्थानका लागि औद्योगिक निगम विकास प्रतिष्ठानमार्फत बिना धितो ५ देखि २० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा प्रवाह भइरहेको जानकारी दिनुभयो। यस्ता कर्जाका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघमार्फत तोकिएको समयमा निवेदन पेश गर्न उहाँले आग्रह गर्नुभयो।
गो लोकलका संयोजक विरेन्द्र जति ले भक्तपुरका उत्पादनलाई पर्यटकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडेर प्रवर्द्धन गर्न विभिन्न गतिविधि सञ्चालन भइरहेको जानकारी गराउनुभयो। भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले सात वर्षको निरन्तर प्रयासपछि भक्तपुरका १५ वटा उत्पादनलाई रैथाने उत्पादनका रूपमा सूचीकृत गरी प्रवर्द्धन गरिरहेको बताउनुभयो।
संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजाले संघ स्थापना कालदेखि निरन्तर साधारण सभा गर्दै उद्यमीहरूको हक–हित र संरक्षणमा क्रियाशील रहेको र उद्यमीका नीतिगत समस्याहरू सरकारका सम्बन्धित निकायसम्म पुर्‍याउन संघले भूमिका खेलेको बताउनुभयो। उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयबाट प्रदान हुँदै आएका सेवा–सुविधा, सीपमूलक तालिम तथा संघ–संस्थासँगको समन्वयमा सञ्चालन भइरहेका गोष्ठी, मेला र अन्तरक्रियाबारे जानकारी गराउनुभयो।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं संघका पूर्व अध्यक्ष सत्यनारायण प्रजापति, केन्द्रीय महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष रीता अवाल, भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण ग्वाछा, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर साना तथा मझौला व्यवसायी संघका अध्यक्ष विरेन्द्र माक, संघकी सचिव श्रीजना कक्षपति तथा महिला उद्यमी समितिकी अध्यक्ष कमलश्वरी खर्बुजाले घरेलु उद्योगले देश विकासमा पुर्‍याएको योगदानबारे धारणा राख्नुभयो।
साधारण सभाको अवसरमा भक्तपुरमा लामो समयदेखि स्थानीय सीप, स्रोत र साधनको उपयोग गरी उद्योग सञ्चालन गर्दै आएका न्यू जगाती राइस मिलका प्रोप्राइटर महेन्द्रमान श्रेष्ठ तथा हेल्पिङ ह्यान्ड फेल्ट क्राफ्टका प्रोप्राइटर राजु भडेललाई ‘वर्षको उत्कृष्ट घरेलु उद्यमी सम्मान २०८२’ बाट सम्मान गरिएको थियो।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथि, विशेष अतिथि तथा विभिन्न संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूलाई संघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here