२५ वर्षपछि पूर्व विद्यार्थीहरुद्धारा शिक्षक–शिक्षिका सम्मान

0
488


भक्तपुर, १९ पुस । वि.सं. २०५७ सालमा बासु माध्यमिक विद्यालय, भक्तपुरमा कक्षा १० मा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले विद्यालय शिक्षा पूरा गरेको २५औँ वर्षगाँठको उपलक्ष्यमा भेटघाट तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरी तत्कालीन प्रधानाध्यापक तथा अध्यापन गराउनु भएका शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेका छन् ।
कार्यक्रममा तत्कालीन प्रधानाध्यापक तथा अध्यापन गराउनु भएका शिक्षक–शिक्षिकाहरूलाई दोसल्ला ओढाइ, मायाको चिनो तथा उपहारसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमा पूर्व प्रधानाध्यापकहरू बालमुकुन्द बासुकला र अम्बिका न्याइचाइ तथा पूर्व शिक्षक–शिक्षिकाहरू लक्ष्मी भक्त लासिवा, गोपाल बासुकला, पुरुषोत्तम नापित, राजुराम लोहला, राजेन्द्र प्रधान, दुर्गा न्यौपाने, प्रेम थापा मगर, हरिमाया कायस्थ, गणेश थिङलगायत रहनुभएको थियो । सो अवसरमा बोल्दै पूर्व प्रधानाध्यापक बालमुकुन्द बासुकलाले शिक्षण पेशामा संलग्न शिक्षकहरूले पाठ्यक्रमका ज्ञानसँगै विद्यार्थीहरूलाई नैतिक, सामाजिक तथा राजनीतिक शिक्षासमेत दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बासु माध्यमिक विद्यालयको स्थापना, यसको ऐतिहासिक पृष्ठभूमि तथा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानबारे समेत चर्चा गर्नुभयो ।
सम्मान ग्रहण गर्ने अन्य शिक्षक–शिक्षिकाहरूले २०५७ ब्याचका विद्यार्थीहरूलाई शुभाआशीर्वाद तथा धन्यवाद व्यक्त गर्दै उनीहरूको प्रगतिप्रति खुशी प्रकट गर्नुभयो । साथै, विद्यालय जीवनका स्मरणीय क्षणहरू स्मरण गर्दै अवकाशपछिको जीवनका अनुभवहरू समेत साझा गर्नुभयो । बासु माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले समाजमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याइरहेको र विभिन्न परिस्थितिमा सहजीकरण गर्दै आएको विषयमा पनि शिक्षकहरूले प्रशंसा गर्नुभयो । उहाँहरूले यस कार्यक्रमलाई जीवनको अविस्मरणीय, ऐतिहासिक तथा गर्व गर्न लायक कार्यक्रम र दिनका रुपमा औंल्याउनु भयो ।
उक्त कार्यक्रम बासु मा.वि. २०५७ ब्याचका पूर्व विद्यार्थीहरूको समुहको पहलमा आयोजना गरिएको थियो । कार्यक्रम आयोजक समितिका संयोजक तथा पूर्व विद्यार्थी रमेश सुकमनीले पाठ्यपुस्तकको ज्ञान मात्र नभई जीवन जिउने कला, नैतिकता, अनुशासन र जिम्मेवारी सिकाउन शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै गुरु–शिष्य सम्बन्धको महत्वमाथि प्रकाश पार्नुभयो । त्यसैगरी, पूर्व विद्यार्थी गणेश राम ध्वजुले यो भेटघाटले सबैलाई पुनः विद्यार्थी जीवनका सुनौलो दिनहरूमा फर्काइदिएको उल्लेख गर्दै समय बिते पनि गुरु–शिष्यको सम्बन्ध कहिल्यै पुरानो नहुने र शिक्षकहरूको योगदान पुस्तौँसम्म जीवित रहने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व विद्यार्थी रत्नमैयाँ भैलले स्वागत मन्तव्य दिनुहुँदै शिक्षकहरूले प्रदान गर्नुभएको जीवनोपयोगी शिक्षाका कारण आजको सफलता सम्भव भएको उल्लेख गर्दै गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित अन्य पूर्व विद्यार्थीहरूले पनि शिक्षकहरूप्रति आभार प्रकट गर्दै आफूहरू हाल संलग्न रहेका सकारात्मक तथा सामाजिक कार्यहरूबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here