काठमाडौं, पुस १२ — निर्वाचन आयोग, नेपालले संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको हो।
मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार आवश्यक प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण समावेश गर्दै अन्तिम नामावली तयार गरिएको आयोगले जनाएको छ।
प्रकाशित अन्तिम मतदाता नामावली अनुसार पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश भएका छन्। सम्बन्धित मतदाताले आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मार्फत आफ्नो नाम हेर्न सक्ने व्यवस्था गरिएको छ।
वि.सं. २०७९ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। उक्त निर्वाचनको तुलनामा २०८२ मा कुल मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ। यस अवधिमा पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ तथा अन्य मतदाता १५ ले बढेका छन्।
यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जानकारी दिएको छ। यो संख्या वि.सं. २०७९ को निर्वाचनको तुलनामा मतदान स्थल ७५ र मतदान केन्द्र ८८५ ले वृद्धि भएको हो।
प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतदाता नामावली सार्वजनिक, मतदाता संख्या १ करोड ८९ लाख नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















