भक्तपुर,पुष ४ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले आफ्ना पदाधिकारीमाथि भएको धम्कीपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघद्वारा जारी प्रेस विज्ञप्ति अनुसार गत पुष १ गते साँझ करिब सवा ६ बजेतिर ताथली–नाला सडकखण्ड हुँदै घर फर्कने क्रममा महासंघ भक्तपुर शाखाका सहसचिव हरिसुन्दर छुकां माथि केही अज्ञात व्यक्तिहरूले अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए। मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिहरूले पत्रकार छुकांमाथि डरत्रास देखाउने तथा अपमानजनक शब्द प्रयोग गरेको जनाइएको छ।
समाचार लेखेकै कारण पत्रकारलाई यसरी धम्क्याउनु र डर देखाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भएको महासंघको ठहर छ। विज्ञप्तिमा घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरिएको छ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारलाई आग्रह गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्नुपर्ने जनाएको छ।
महासंघका सचिव दीपक ढुंगानाद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गरिनुपर्ने स्पष्ट उल्लेख गरिएको छ।


















