भक्तपुर, पुस ४ । साइनिङ्ग स्टुडेण्ट्स एकेडेमीले ‘फोहरलाई मोहर बनाऔँ’ भन्ने मूल नारासहित शुक्रबार प्रदर्शनी सम्पन्न गरेको छ। प्रदर्शनीको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल र भनपा स्यानिटेसन शाखाका प्रमुख दिलिप सुवालले संयुक्त रूपमा रिबन काटेर गर्नुभयो।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष सुवालले फोहरलाई सही रूपमा व्यवस्थापन गरी मोहरमा रूपान्तरण गर्न सके आर्थिक वृद्धि सम्भव हुने बताउनुभयो। कुहिने फोहरलाई प्राङ्गारिक मलका रूपमा प्रयोग गर्न सकिने र नकुहिने फोहर, विशेषगरी प्लास्टिकजन्य सामग्रीबाट जुट्टा, मुढा जस्ता सामग्री निर्माण गरी आयआर्जन गर्न सकिने उहाँको भनाइ थियो। घरदैलोबाटै फोहर व्यवस्थापन गर्न सके नगरपालिकाको खर्च घट्ने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने समेत उहाँले उल्लेख गर्नुभयो। विद्यालयले निरन्तर तीन वर्षदेखि विभिन्न विषयमा प्रदर्शनी आयोजना गर्दै अभिभावकको विश्वास जित्न सफल भएको र शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत विद्यालय अब्बल रहेको उहाँले प्रशंसा गर्नुभयो। साथै विद्यालयले हालसम्म एसईई परीक्षामा १०० प्रतिशत नतिजा हासिल गरेको जानकारी पनि दिनुभयो।
कार्यक्रममा भनपा स्यानिटेसन शाखाका प्रमुख दिलिप सुवालले ‘फोहर’ शब्द सामान्य लागे पनि यसभित्र धेरै महत्वपूर्ण पक्ष लुकेको बताउनुभयो। फोहर भन्नेबित्तिकै छिछि–दुरदुर गर्ने सामाजिक प्रवृत्तिलाई सकारात्मक सोचमा रूपान्तरण गर्न विद्यालयले गरेको प्रयास प्रशंसनीय रहेको उहाँले भन्नुभयो। फोहरबाट हुने असर र त्यसबाट लाग्ने विभिन्न रोगबारे जानकारी दिँदै उहाँले फोहर व्यवस्थापनमा सचेत हुन आग्रह गर्नुभयो। फोहर कुहिने र नकुहिने गरी दुई प्रकारका हुने, तिनको सही वर्गीकरण तथा पुनः प्रयोगको महत्वबारे समेत सहभागीहरूलाई जानकारी गराउनुभयो। कुहिने फोहरलाई व्यवस्थित गरी प्राङ्गारिक मल बनाउँदा कृषि क्षेत्रमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।
विद्यालय र विद्यार्थीहरूले फोहर व्यवस्थापनसम्बन्धी गरेका गतिविधिमा अभिभावकको प्रोत्साहन अपरिहार्य रहेको उल्लेख गर्दै अभिभावक र विद्यालय दुवै पक्ष मिलेर विद्यार्थीलाई फोहरमैला व्यवस्थापनबारे ज्ञान दिएमा स्वच्छ र स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने सुवालले बताउनुभयो।


















