टेलिभिजन सम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

0
538

भक्तपुर, मंसिर २८
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सचिव सुवालले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अंग भएको उल्लेख गर्दै टेलिभिजन सञ्चालनका लागि अनुभवी जनशक्ति र विषयगत ज्ञान अपरिहार्य रहेको बताउनुभयो । सञ्चारमाध्यम नाफामुखीभन्दा पनि आस्थाको पत्रकारितामा केन्द्रित हुनुपर्ने धारणा राख्दै उहाँले जनताको समस्यालाई प्राथमिकताका साथ उठान गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले केही सञ्चारमाध्यमहरुले अन्तर्राष्ट्रिय राजनीतिसम्बन्धी विषयमा भ्रमपूर्ण र झुटा समाचार प्रचार–प्रसार गरिरहेको आरोप लगाउँदै यस्ता प्रवृत्तिबाट पत्रकारिता क्षेत्र सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै सरकारले २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णयप्रति असहमति जनाउँदै पुराना गाडी मर्मत गरी पुनः सञ्चालन गर्न सकिने र यसका लागि नगरपालिकाले गाडी मर्मतसम्बन्धी तालिम सञ्चालन गरी जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले आफ्ना गतिविधिहरु सञ्चारमाध्यममार्फत व्यापक रुपमा प्रचार–प्रसार गर्दै आएको बताउँदै समाज परिवर्तनका लागि सञ्चारमाध्यम सशक्त माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाको आफ्नै स्वामित्वमा टेलिभिजन सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक जनशक्ति व्यवस्थापनका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । ख्वप टिभी दर्ता तथा सञ्चालन प्रक्रियामा विभिन्न चुनौतीहरु पार गर्दै हाल परीक्षण प्रसारण सुरु भइसकेको पनि उहाँले बताउनुभयो ।

प्रमुख प्रजापतिले सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले अन्तर्राष्ट्रवादी पत्रकारहरुको जीवनी अध्ययनबाट प्रेरणा लिन सक्ने उल्लेख गर्दै प्रचलित ऐन–कानुनको पर्याप्त ज्ञान राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तालिमका प्रशिक्षक कृष्णकाजी मानन्धरले सिक्ने–सिकाउने प्रक्रिया जीवनभर चलिरहने बताउँदै १५ दिने तालिम अवधिमा सहभागीहरुले सिक्ने र सिकाउने दुबै अवसर पाएको बताउनुभयो । टेलिभिजन सञ्चालन गर्ने देशकै पहिलो स्थानीय तहको रुपमा भक्तपुर नगरपालिका रहेको उल्लेख गर्दै उहाँले सूचना तथा प्रविधिको युगमा यसको सही प्रयोगले नगरको प्रचार–प्रसार अझ सशक्त बन्ने धारणा राख्नुभयो ।

कार्यक्रममा ख्वप टिभीका व्यवस्थापक रविन्द्रप्रसाद कुसी, प्रशिक्षार्थीहरु रमिता बासुकला र शम्भुचरण राजभण्डारीले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here