भक्तपुर, मंसिर २७ गते ।
भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा शनिबार वडावासी महिलाहरुको पाठेघर परीक्षण (भिआइए टेस्ट) तथा स्तन परीक्षण शिविर सम्पन्न भयो । नगर उप प्रमुख रजनी जोशीले ख्वप अस्पतालका चिकित्सक डा. श्रीजा किसीलाई परीक्षण सामग्री हस्तान्तरण गरी शिविरको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उपस्थित वडावासीहरुलाई सम्बोधन गर्दै उप प्रमुख जोशीले नगरवासीहरु स्वस्थ र निरोगी बनेमा नगरपालिका नै निरोगी हुने र आत्मनिर्भर बन्ने बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य उपचार सेवालाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै ख्वप अस्पतालमार्फत गरिब कामदार जनताको सहज उपचार गराइरहेको प्रष्ट पार्नुभयो ।
पुरुषहरुको तुलनामा महिलाहरुलाई ४३ वटाभन्दा बढी रोग लाग्ने चिकित्सकहरुको भनाई उद्दृत गर्दै उप प्रमुख जोशीले नियमित स्वास्थ्य परीक्षण गरी चिकित्सको सल्लाहमा औषधी सेवन गर्न सबैमा अनुरोध गर्नुभयो ।
वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाले सबै जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन हेल्थ प्रोफाइल तयार गरिरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखूले शिविरको महत्वबारे प्रष्ट पार्दै महिलाहरुले पाठेघर परीक्षण नियमित रुपमा गर्नुपर्ने र रोग लागेमा आत्तिनेभन्दा पनि मनोबल बलियो बनाई उपचारमा लाग्नुपर्ने सुझाव दिनुभयो ।
नर्स रचना सुवालले भिआइए टेस्ट महिलाहरुको पाठेघर क्यान्सर परीक्षणको लागि प्रभावकारी रहेको र यसले १० वर्षपछि क्यान्सर हुनसक्ने भएमा त्यसको समेत संकेत देखाउने भएकोले सबै महिलाहरुले परीक्षण गर्न अनुरोध गर्नुभयो ।
वडा सदस्य इन्द्रबहादुर प्याथले स्वागत गर्नुभएको उक्त शिविरमा जम्मा १५४ जना महिलाहरुले पाठेघर तथा स्तनको परीक्षण गरेको बताइएको छ । परीक्षणमा समस्या देखिएका केही महिलाहरुलाई तुरुन्त अस्पतालमा थप स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह लिन सुझाव दिइएको शिविरमा संलग्न स्वास्थ्यकर्मीले बताउनुभयो ।
वडावासी महिलाहरुको पाठेघर परीक्षण (भिआइए टेस्ट) तथा स्तन परीक्षण शिविर सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















