भक्तपुर, मंसिर २४ – भक्तपुर नगरपालिका–१० वडा कार्यालयले आज आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा स्थानीयवासी, महिला समूह र शिक्षकहरूको सक्रिय सहभागिता देखियो। कार्यक्रमले समाजमा लैङ्गिक हिंसा विरुद्ध चेतना फैलाउने र बालबालिका तथा किशोर–किशोरीलाई सुरक्षित वातावरणमा हुर्काउनुपर्ने सन्देशलाई प्राथमिकता दिएको थियो।
सभापति तथा प्रमुख अतिथि वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिक्खा ज्यूले उपस्थितहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “समाज र घर–घरमा जबसम्म सचेतना फैलिंदैन, तबसम्म सरकारका प्रयास मात्रले लैङ्गिक हिंसा अन्त्य हुँदैन। प्रत्येक नागरिकको सक्रियता समाजलाई सुरक्षित बनाउने आधार हो।” उहाँले वडामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको मुख्य कारणमध्ये लैङ्गिक हिंसालाई समेत औंल्याउनुभयो।
कार्यक्रममा वडा सदस्य तारा देवी शाक्य ज्यूले भने कि पहिले प्रायः पुरुषबाट महिलामाथि हिंसा हुने गरेको भए पनि हालका दिनहरूमा महिलाबाट पुरुषमाथि पनि हिंसाका घटना बढ्दै गएका छन्। आर्थिक असमानता, धार्मिक र सामाजिक तनावहरूले यसमा भूमिका खेल्ने भएकाले शिक्षित र सचेत समाज निर्माण गर्नु अनिवार्य भएको उहाँले उल्लेख गर्नुभयो।
स्वयंसेविका इन्चार्ज रामलक्ष्मी अवाल ज्यूले प्रविधिको दुरुपयोग, ब्ल्याकमेल र साइबर हिंसाका घटनाहरू बढ्दो अवस्थामा रहेको बताउँदै, बालबालिका र किशोर–किशोरीलाई विद्यालय र घरमा प्रविधि प्रयोगमा सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले अभिभावकहरूले प्रविधि साक्षर बन्नु आवश्यक रहेको बताए।
कार्यक्रमका उद्घोषक देब त्वानाबासु ज्यूले कानुनी अधिकार, सुरक्षा उपाय र घटनासँग कसरी सामना गर्ने भन्ने विषयमा जानकारी दिए। उहाँले सबैलाई समानता, सद्भाव र सुरक्षित समाज निर्माणमा हातेमालो गर्न आह्वान गर्नुभयो।


















