भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै

0
247


भक्तपुर, मंसिर २५ ।
भक्तपुर नगरपालिकाको आयोजनामा आज मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट बिहान १० बजे सहिदस्मृति खेलमैदानमा हुनेछ । कार्यक्रमको उद्घाटन ¥याली भने बिहान ९ बजे भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरू भई गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालयको अगाडिबाट नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत हुनेछ ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहालीसँगै प्रत्येक वर्ष सञ्चालन गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता प्रत्येक वर्ष परिमार्जित र परिस्कृत हुँदै आएको छ । यसैक्रममा खेलविधाहरु क्रमशः थपिँदै जानुका साथै प्रतियोगितामा भाग लिने खेलाडीहरुको संख्या पनि प्रत्येक वर्ष बढ्दै गएको छ ।
यस वर्षको खेलकुद प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, टेबलटेनिस, पोर्टबल, उसु, कबड्डी, तेक्वाण्डो, कसिमला पाय्, बुद्धिचाल, बाघचाल, फुटबल, जिम्नाष्टिक, ब्याडमिन्टन, कराँते र खोखो गरी १५ वटा खेलकुद नगरका १० वटै वडाहरुमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन् ।
भलिबलमा २८८ जना, एथ्लेटिक्समा ४०८ जना, टेबलटेनिसमा १३८ जना, पोर्टबलमा १५३ जना, उसुमा १३९ जना, कबड्डीमा १६० जना, तेक्वाण्डोमा ३५० जना, कसिमला पाय्मा २४३ जना, बुद्धिचालमा १७३ जना, बाघचालमा २४७ जना, फुटबलमा २८८ जना, जिम्नाष्टिकमा १०० जना, ब्याडमिन्टनमा १२० जना, कराँतेमा १६० जना र खो खोमा ३२४ जना गरी जम्मा ३ हजार २९१ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
यसरी नगरपालिकाबाट खेलकुद प्रतियोगिता सञ्चालन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here