भक्तपुर, मंसिर २३ । “स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ” भन्ने मूल नारासहित १३औँ घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२ भक्तपुर नगरपालिका–२ स्थित नःपुखु परिसरमा यही पुष ३, ४ र ५ गते सञ्चालन हुने भएको छ। मेला भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा तथा उद्योग तथा बाणिज्य कार्यालय, भक्तपुरको सहकार्यमा हुन लागेको हो।
तीन दिनसम्म चल्ने मेलामा भक्तपुरमा उत्पादन हुने विभिन्न परम्परागत तथा स्थानीय वस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्। मेला बिहान १० बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, धरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्टर कला, माटाका भाँडाकुँडा, कृषि उत्पादन, तोरीको तेल, नेपाली अचार, पाउँका विभिन्न प्रकार, नर्सरी सामग्री तथा च्याउका परिकारहरू लगायत भक्तपुरका पहिचान बोकेका रैथाने उत्पादनहरू मुख्य आकर्षण हुनेछन्।
स्थानीय उद्यमीलाई प्रोत्साहन गर्दै घरेलु उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा सबैलाई सहभागी हुन अनुरोध गरिएको छ।


















