भक्तपुर, कात्तिक — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नाम दर्ताका लागि सर्वसाधारणको सहभागिता उल्लेखनीय देखिएको छ। आयोगले कार्तिक ३० गतेसम्म नागरिकहरूको नाम दर्ता गर्ने कार्य निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ। सोहीअनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मात्र आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन्। त्यसैले नागरिकताको प्रमाणपत्र प्राप्त गरी १८ वर्ष उमेर पुगेका सबै नेपालीलाई तोकिएको मितिभित्र आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन आयोगले आग्रह गरेको छ।
यस बीच, मतदाता दर्तामा बढ्दो भीडका कारण कतिपय स्थानमा सर्भरमा चाप परेर सेवाग्राहीले असुविधा व्यहोर्नु परेको आयोगले उल्लेख गरेको छ। तथापि, आवश्यक प्राविधिक व्यवस्था मिलाउँदै दर्ता कार्य सुचारु रूपमा अघि बढाइने आयोगको भनाइ छ।
आगामी प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि, विगतको परम्परा अनुरूप १६ वर्ष उमेर पूरा भइसकेका र नागरिकता प्राप्त सबै व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने आयोगले जानकारी दिएको छ।


















