१८ वर्ष पूरा हुनेले मात्र मतदान गर्न पाउने: आयोग

0
234

काठमाडौँ, कात्तिक २५ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग, नेपालले मतदाता नामावली दर्तासम्बन्धी महत्वपूर्ण जानकारी सार्वजनिक गर्दै योग्य नागरिकहरूलाई नाम दर्ता गराउन अपिल गरेको छ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर नपुग्ने नागरिकहरूले यस पटकको निर्वाचनमा मतदान गर्न नपाउने भएकाले उनीहरूले निर्वाचन सम्पन्न भएपछि मात्र मतदाता नामावलीमा नाम दर्ता गराउनु पर्नेछ। आयोगले भन्यो, “मिति २०८२/११/२० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकहरूले मात्र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन सक्नेछन्।”

यसैबीच, देशका विभिन्न जिल्लामा मतदाता नाम दर्ताका लागि सेवाग्राहीको चाप उल्लेख्य रुपमा बढेको हुँदा सेवा सहज र प्रभावकारी बनाउन विशेष व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ। दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेको जिल्लाहरूमा सेवा प्रवाहलाई दुई सिफ्टमा विस्तार गर्दै दैनिक १२ घण्टा सञ्चालन हुने व्यवस्था लागू गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सेवा प्रवाह सुचारु राख्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना अतिरिक्त दर्ता कर्मचारी खटाइएको छ। त्यस्तै, उपत्यका बाहिरका जिल्लाहरूमा सेवाग्राहीको चापको आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत थप जनशक्ति व्यवस्थापन गर्न गृह मन्त्रालयसँग समन्वय गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार, सबै योग्य र इच्छुक नागरिकहरूलाई आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन आवश्यक कागजातसहित नजिकको दर्ता केन्द्रमा पुग्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here