धरान, कार्तिक । वातावरण, पर्यावरण र जैव विविधतासहित जीवमण्डलको संरक्षण मानव अस्तित्व, स्वास्थ्य तथा विकासका लागि अनिवार्य छ भन्ने सन्देशसहित सन् २०२५ अक्टोबर १९ को बायोइथिक्स दिवस नेपालभरिका विभिन्न मेडिकल कलेजहरुले विविध कार्यक्रमसहित मनाएका छन् । बायो–इथिक्स नेपाल एकाईको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमको समापन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल एकाईका प्रमुख तथा नेपालका लागि कार्यक्रम संयोजक प्रा.डा. धनरत्न शाक्यले गर्नुभएको थियो । विद्यार्थी संकायका अनिशा गिरी र क्रिष्टिना राईले कार्यक्रम सञ्चालन गरेका थिए ।
समारोहमा बोल्दै प्रा.डा. शाक्यले मानव जीवन र स्वास्थ्य सुरक्षित राख्न वातावरणीय सन्तुलन, जैव विविधता र जैव मण्डलको संरक्षण अपरिहार्य भएको उल्लेख गर्दै “बायोइथिक्सको १७ औं सिद्धान्तले अहिलेको मानव विकास वातावरणमैतिको संरक्षणबिना असम्भव हुन्छ भन्ने स्पष्ट सन्देश दिन्छ”, भन्नुभयो । उहाँले हरेक नागरिकले आफ्नो स्थानबाट सम्भव योगदान र पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रा.डा. सरुन कोइरालाले चिकित्सा शिक्षामा इथिक्सको भूमिका, डा. अशोक ऐरले दन्त चिकित्सा क्षेत्रको आयाम र खेमचन्द सुवेदीले नागरिक तथा कानुनी पक्षबारे टिप्पणी राख्नुभयो । विद्यार्थी संकायका समिप रेग्मीले यस वर्षको नारासम्बन्धी सेमिनार प्रस्तुति दिए ।
बायोइथिक्स दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरूमा विजेता घोषणा गरिएको छ । बायोइथिक्स दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रतिभाहरूले पुरस्कार प्राप्त गरेका छन्। फोटोग्राफी प्रतियोगितामा सुरजा शाक्य प्रथम, सम्पदा धिमाल दोस्रो र सुदिन भुषाल तेस्रो भएक छन्। आर्ट पोस्टरतर्फ उज्ज्वल ठाकुर र सुरजा शाक्य विजेता घोषित भए। वैज्ञानिक पोस्टरमा प्रशान्त सापकोटाले उत्कृष्टता प्राप्त गरे भने कविता प्रतियोगितामा जीवन भुजेल पुरस्कृत भएका हुन्।
समापन मन्तव्यमा प्रमुख संयोजक प्रा.डा. शाक्यले बायोइथिक्सका सिद्धान्तहरू चिकित्सा, स्वास्थ्य र अनुसन्धान क्षेत्रको नैतिक आधार भएकाले यस विषयको अध्ययन, छलफल र अभ्यास विस्तारित हुँदै जानुपर्नेतर्फ जोड दिनुभयो ।
बायोइथिक्स नेटवर्कमा नेपाल सन् २०१३ देखि आवद्ध भए पनि सन् २०१६ देखि विश्व बायोइथिक्स दिवस औपचारिक रूपमा मनाइँदै आएको छ । युनेस्को बायोइथिक्स चेयरले स्वास्थ्य, जीवन विज्ञान तथा चिकित्सा क्षेत्रमा नैतिक मूल्यको शिक्षा, तालिम र अनुसन्धानलाई वैश्विक स्तरमा सुदृढ बनाउँदै आएको छ ।


















