श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने

0
185

भक्तपुर, कार्तिक १३ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि काम सानो र ठूलो नहुने सबैले श्रमको सम्मान गर्नुपर्ने बताउँदै ज्येष्ठ नागरिकको हेरचाहमा बस्ने हरेक कर्मचारीले असल व्यवहार गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिक हेरचाह सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आफ्ना सन्तानहरुलाई शिक्षाको साथै असल संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हरेक व्यक्तिले सम्पत्ति वा सेवा दुईमध्ये एकको लागि काम गर्छन् । ज्येष्ठ नागरिकको हेरचाह एक सेवा क्षेत्र हो । यसलाई गौरवको रुपमा खुशीका साथ काम गर्नुपर्छ । हरेक घरमा सन्तानहरुले ज्येष्ठ नागरिकको सेवा गरेको खण्डमा पुरै परिवार खुशी हुन्छन् ।’

स्थानीय स्रोत र साधनहरुको अधिकत्तम उपयोग गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले कार्य गरिरहेको उल्लेख गर्दै उहाँले समाज परिवर्तन गर्न प्रत्येक व्यक्तिमा निःस्वार्थी रुपले सेवा गर्नुपर्ने भावनाको विकास हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूले जानेको हरेक कामले समाजको सेवा हुने भावनाले गर्नुपर्ने बताउँदै मान्छे कामको लागि दौडने भन्दा कामले आफूलाई खोज्ने वातावरण निर्माण गर्नुपर्छ भन्नुभयो ।तालिम अघि र पछि ज्येष्ठ नागरिक हेरचाहमा आउने व्यवहारले तालिमको महत्व दर्शाउने हुँदा तालिमलाई व्यवहारमा उतार्ने प्रयत्न गर्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले स्थानीय सरकार अभिभावकको रुपमा रहने भएकोले नगरपालिकाले ज्येष्ठ नागरिकहरुको हेरचाह गर्ने उद्देश्यले आदर निकेतन सञ्चालनको तयारीस्वरुप तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले अहिलेको समयमा सामूहिक परिवारमा बस्ने संस्कार कम हुदैं आएकोले ज्येष्ठ नागरिकहरु अपहेलित बन्दै गइरहेको समेत बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले नगरपालिकाले चुनावी घोषणापत्र अनुसार आदर निकेतन संचालन गर्ने उद्देश्यले आदर निकेतन संचालन गर्न लागेको बताउनुभयो । समाजवादी व्यवस्थामा जन्मेदेखि नमरेसम्म जनताको सेवा राज्यले गर्ने भएकोले भक्तपुर नगरपालिकाले पनि सोही अवधारणा अनुसार काम गर्दै आइरहेको बताउँदै उहाँले ज्येष्ठ नागरिकको जीवनशैली कष्टकर बन्दै आइरहेकोले उनीहरुको जीवन सरल बनाउन आदर निकेतन आवश्यक रहेको बताउनुभयो ।

कार्यपालिका सदस्य रोशनमैया सुवालले प्रत्येक घरमा ज्येष्ठ नागरिकहरु हुने भएकोले ज्येष्ठ नागरिकहरुलाई छोराछोरीहरुले सम्मानजनक व्यवहार तथा स्याहार सुसार गर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक सुन्दर सुवालले ज्येष्ठ नागरिक हेरचाह तालिममा प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागिता रहेको बारेमा चर्चा गर्नुभयो । केयर गिभर पेशा एक शारीरिक साथसाथै भावनात्मक रुपमा जोडिएको पेशा रहेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट किसु सुवालले तालिमको समयमा हासिल गरेको अनुभव र उपयोगीताबारे विचार राख्नुभएको थियो भने वडा नं ६ का वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।

नगर प्रमुख प्रजापतिले तालिममा २७ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार भनपा वडा नं. ६ मा आदर निकेतन सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here