भक्तपुर, कार्तिक ९ – श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत शिक्षा उपसमिति र महिला तथा स्वास्थ्य उपसमितिको संयुक्त आयोजनामा तीन महिने परम्परागत बाँसुरी बाजा र बेला (भ्वाइलिन) प्रशिक्षण आइतबार एक विशेष कार्यक्रमविच उद्घाटन गरिएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष पूर्ण गोपाल राजचलले प्रशिक्षक श्रीकृष्ण तुईतुईलाई बेला हस्तान्तरण गरी प्रशिक्षणको औपचारिक उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राजचलले परम्परागत संगीत र संस्कृतिको जगेर्ना गर्न यो तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रशिक्षार्थीहरूलाई मेहनत र लगनशीलताका साथ सिक्न आग्रह गर्दै सिकाइ र सृजनशीलतालाई एकअर्कासँग बाँड्नुपर्ने बताउनुभयो।
त्यस्तै, संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाद त्वानाबासुले सहकारी संस्था स्थापना भएदेखि नै सामाजिक, सांस्कृतिक र स्वास्थ्यसम्बन्धी विविध गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले सहकारीले यसअघि रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, झोल साबुन र मैनबत्ती बनाउने तालिम, समाचार लेखन तालिम लगायतका कार्यक्रमहरू सम्पन्न गरिसकेको समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो बाँसुरी र बेला तालिमको उद्देश्य परम्परागत बाजागाजा र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तालाई सिकाउने हो।”
तीन महिनासम्म चल्ने यस तालिममा ८ वर्षदेखि ५० वर्ष उमेर समूहका प्रशिक्षार्थीहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद कर्मचार्य र प्रशिक्षक श्रीकृष्ण तुइतुइले पनि बोल्नुभएको थियो ।
तालिममा १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।


















