गुरु गणेश सहकारीको १८औं साधारणसभा सम्पन्न, सहकारीलाई समाजवाद उन्मुख संस्थाका रूपमा विकास गर्न आग्रह

0
307

भक्तपुर, कार्तिक १ ।
गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा शनिबार भक्तपुर कमलबिनायकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले पानसमा दीप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा भक्तपुर नगरपालिका वडा नं. ९ का सदस्य एवम् सल्लाहकार इन्द्रबहादुर प्याथले सहकारी संस्थाहरूले केवल आर्थिक लाभ मात्र होइन, समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सदस्यले लाभांश र व्याज मात्र हेर्ने होइन, सहकारीले सही बाटो लिएको छ कि छैन भन्ने छलफलमा पनि सहभागी हुनुपर्छ ।” उहाँले अहिले बैंकमा व्याजदर घटेका कारण लगानीको जोखिम बढेको र पूँजीवादी सोचले सहकारीको उद्देश्यलाई कमजोर बनाइरहेको बताउनुभयो ।

त्यस्तै, सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको ऐतिहासिक र सामाजिक महत्वबारे चर्चा गर्दै भन्नुभयो, “सहकारी भनेको सहकार्य हो । सहकार्य गरे समाज समृद्ध बन्छ । साधारणसभा भनेको सदस्यहरूले वर्षभरि सहकारीले गरेका कामहरूको समीक्षा गर्ने अवसर हो ।” उहाँले सहकारीमा देखिएका अनियमितताप्रति चिन्ता व्यक्त गर्दै सहकारी छानबिन आयोगको प्रतिवेदनअनुसार करिब ८७ अर्ब रुपैयाँ जोखिममा रहेको तथ्यले सरकार र सहकारी दुवैले सचेत हुनुपर्ने बताउनुभयो ।

सल्लाहकार काशिलाल प्रजापतिले वर्तमान राजनीतिक अस्थिरता र असुरक्षित लगानीका कारण बैंकमा व्याजदर घट्दा सुन मंहगो भएको बताउँदै सहकारीले पनि सावधानीपूर्वक नीति अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष तुल्सी केशरीले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन तथा २०८२/०८३ को नीति, योजना र बजेट प्रस्तुत गर्नुभयो । सचिव सत्यराम ज्ञामरुले वार्षिक प्रगति प्रतिवेदन र संयोजक हरिकृष्ण प्रजापतिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो, जसलाई साधारणसभाले सर्वसम्मतिले पारित गरेको थियो ।

कार्यक्रममा सल्लाहकार न्हुन्छेभक्त कोजू, चम्पा ज्ञामरु, राजु सिंह बजिको, सितालक्ष्मी कोजू लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अन्त्यमा संस्थाले २६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । साथै, असल बचतकर्ता, असल ऋणी, एसईई, प्लस टू र डिप्लोमा तहमा उत्कृष्ट विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो । झोल, गिलास र साबुन तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रम अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here