दैलेख , २६ असोज । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा आइतबार दैलेखको राकम कर्णालीमा कार्यकर्ता भेला भयो ।
उक्त भेलालाई पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकारमा गएका दलका नेताहरूले भ्रष्टाचार गरेको हुँदा देशमा आजको सङ्कट भएको हो । नेपालमा ध्वंस हुनुमा साम्राज्यवादी र विस्तारवादीहरूको संलग्नता हुनसक्छ ।”
पुँजीवादी व्यवस्थाको भ्रष्टाचार समाजवादी व्यवस्थामा पनि देख्न सकिने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सुसंस्कृत पुस्ता तयार भएपछि मात्र भ्रष्टाचार अन्त्य हुनेछ । नेपालमा भदौ २४ को आगलागी कसले गराएको हो, एकदिन युवाले बुझ्नेछ । युवाले नबुझेसम्म समाजमा आमूल परिवर्तन आउनेछैन ।”
उहाँले थप्नुभयो, “परीक्षाबिना उत्तीर्ण गराउने सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले नेपाली युवालाई विदेशमा सस्तो ज्यामीको रूपमा पठाइरहेको देशद्रोही काम हो ।”
उहाँले भन्नुभयो, “संसद् सदस्यहरूको सिफारिसमा योजना बनाउने गरी पठाइएको बजेटमा भ्रष्टाचार हुँदा सांसदहरू पनि भ्रष्टाचारको हिस्सेदार भए । मन्त्री भएर आफ्नो वडा र पालिकामा बढी बजेट राख्नेहरू पनि जनद्रोही हुन् ।”
अध्यक्ष बिजुक्छेले भन्नुभयो, “संसदीय व्यवस्थाबाट समाजवाद आउँदैन । नेमकिपाले संसद्मा पुगेर भ्रष्टाचारीहरूलाई उदाङ्ग्याउने काम गरिरहेको छ । खराब ठेकेदारहरूले सरकारका मन्त्रीहरूलाई घुस खुवाएर ५ वर्षको योजना १० वर्षमा पनि नसकाउने र बजेट थप गराउने काम गरे† तर उनीहरूलाई कारबाही भएन ।”
देशको सन्तुलित विकासको लागि सङ्घीय राजधानी अन्यत्र स्थानान्तरण गर्नु जरूरी भएको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शासक दलका नेताहरू निर्वाचन जितेर काठमाडौँमा घर बनाएर बस्न पुग्नु पनि जनद्रोही काम हो ।”
“आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिकरूपमा स्वतन्त्र हुनेछैन । चीन अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने देश हो । नेपाल सरकारले ‘एक चीन नीति’ मा समर्थन गर्ने तर आवश्यक समयमा सरकारले नबोलिदिनु गलत हो”, उहाँले भन्नुभयो ।
भेलामा पार्टी सचिव प्रेम सुवाललगायत केन्द्रीय सदस्यहरू जग्यबहादुर शाही, सरोजराज गोसाई, केसेन्द्रप्रकाश कार्की, वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरूङ र जिल्ला अध्यक्ष जगत वलीले पनि बोल्नुभएको थियो ।
भेलाले जगत वलीको संयोजकत्वमा नेमकिपा पन्ध्रौँ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
दैलेखमा नेमकिपाको कार्यकर्ता भेला सम्पन्न, अध्यक्ष बिजुक्छेँको अनलाइन सम्बोधन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















