काठमाडौं, असोज १५ ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा बढी हुने अनुमान गरिएको छ। नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने देखिएको छ भने विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहटलगायतका जिल्लामा स–साना नदीमा आकस्मिक बहावको जोखिम उच्च रहेको चेतावनी दिइएको छ।
दशैंको अवसरमा यात्रा र आवतजावत बढी हुने भएकाले प्राधिकरणले सम्बन्धित निकाय र नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।


















