श्रावण १,
आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । यो महिना भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ।
यस दिन लुतो पनि फाल्ने गरिन्छ । विशेष गरि असारभरि गरिने खेतिपातिका क्रममा हिलाेका कारण फैलन सक्ने छाला राेग, लुत्ताे, दाद, खटिरा आदि चर्मादि राेगबाट मुक्त हुनको लागि नेपालि समाजमा आजको दिन लुतो फाल्ने गरिन्छ ।
यस दिनबाट सुर्य दक्षिण तर्फ सरि कर्कट रेखा माथि जाने गरिन्छ । ज्योषित विज्ञान अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । त्यही कारण यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यस दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि पाइन्छ। साउन महिनाभर देशभरका शिवालय मन्दिरमा भक्तजनको विशेष घुईंचो लाग्ने गर्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।


















