४५ औँ नेपालभाषा साहित्य तःमुंज्या तयारी तीव्र, सहयोगका लागि आह्वान

0
320

भक्तपुर, असोज ७। आगामी असोज १८ र १९ गते भक्तपुरको इटाछेँ नःपुखु टोलमा हुने ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को तयारी तीव्र रुपमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै तःमुंज्या ग्वसाखल (आयोजक समिति) का अध्यक्ष रवीन्द्र खर्बुजाले तयारीको प्रगति र योजनाबारे जानकारी दिएका हुन् ।

कार्यक्रममा अध्यक्ष खर्बुजाले सम्मेलनलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला, शुभचिन्तक, मजदुर, किसान, व्यवसायी, उद्योगी, शिक्षक, प्राध्यापकलगायत सबैलाई सुझाव र सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले वर्तमान बजार मूल्य अनुसार लागत बढी हुने भएकाले आर्थिक सहयोग अपरिहार्य रहेको प्रष्ट पार्दै प्रचार–प्रसारमा सञ्चारकर्मीहरूको निरन्तर सहयोग अपेक्षा गरिएको बताउनुभयो ।

खर्बुजाले विगतमा श्वेत आतङ्क (२०४५ साल) र कोभिड–१९ महामारीको कठीन परिस्थितिमा पनि तःमुंज्या निरन्तर आयोजित हुँदै आएको उल्लेख गर्दै यसपटक पनि स–साना अवरोधका कारण कार्यक्रम नरोकिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार यस वर्ष पनि देशका प्रतिष्ठित साहित्यकार, बुद्धिजीवी, प्राध्यापक, वकिल, चिकित्सकलगायतलाई निमन्त्रणा दिइसकिएको छ र धेरैबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

त्यस्तै, ग्वसाखलका सचिव राजन जतिले ग्वसाखलको स्थापना यता गरिएका गतिविधिबारे जानकारी दिँदै सम्मेलन तयारीमा सबैको साथ–सहयोग आवश्यक रहेको औंल्याउनुभयो । प्रचारप्रसार उपसमितिका संयोजक राजकुमार लघुले सञ्चारकर्मीहरूको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि त्यस्तै साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, ‘मजदुर दैनिक’का प्रकाश थुसा, ‘राजधानी दैनिक’का पूर्णभक्त दुवाल, ‘चाँगुपत्र साप्ताहिक’का हरिसुन्दर छुकां, कैलाश खबर टेलिभिजनका अन्जिरसिंह बिकलगायत सञ्चारकर्मीहरूले सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here