भक्तपुर, १६ भदौ । पैतालिसौँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा साहित्यकार एवं सांस्कृतिककर्मीहरूको भेला नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भयो ।
उहाँले साहित्य जनताले बुझ्ने भाषामा लेखिनुपर्ने आवश्यकता औँल्याउँदै शोषित–पीडित, निम्न वर्ग तथा मजदुर–किसानको आवाज उठाउनुपर्ने बताउनुभयो ।
शासक दलको कुकर्मले हाम्रो भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीमाथि नेपालको दाबी फितलो भएको बताउँदै उहाँले नेपालको दुर्गम एवं सिमानामा प्रशासनिक पहुँच नहुने हो भने थुप्रै भूभाग भारतीय विस्तारवादले अतिक्रमण गर्ने प्रस्ट पार्नुभयो ।
घुसखोर कर्मचारीहरूको चङ्गुलले नेपालको सार्वजनिक पर्तीजग्गा भू–माफियाहरूको पकडमा पुगेको उहाँले औँल्याउनुभयो ।
वैदेशिक रोजगारको लागि विभिन्न देशमा पुगेका नेपाली चेलीहरू खुला रूपमा बजारमा राखी बिक्री गर्दै आएको रिपोर्टहरू आएको सचिव सुवालले बताउनुभयो ।
भक्तपुर काण्डबारे वार्षिक रूपमा हुँंदै आएको भत्र्सना कार्यक्रमले नयाँ नयाँ तथ्यहरू बाहिर आइरहेको उहाँले बताउनुभयो ।
देश विदेशका घटना तथा दमनको बारेमा जनतालाई सुसूचित गरी अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको विरोध साहित्यमार्फत गर्नुपर्ने सचिव सुवालले औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सभासद् सुरेन्द्रराज गोसाईले युग सुहाउँदो वर्गीय साहित्य सिर्जनाले मात्र समाजवादी गन्तव्य पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्नो भाषासँगसँगै विश्वमा बोलिने सम्पूर्ण भाषाको कदर नै भाषिक आन्दोलनको मुख्य एजेन्डा हुनुपर्छ अन्यथा फासीवादी विचार हुनेछ । साहित्यले इमान, नैतिकता कुरा गरी समाजको सेवा गर्नुपर्छ । साहित्यमा शैली र कला पक्ष पनि आवश्यक हुने भएकोले त्यसैमार्फत भ्रष्टाचार, गुण्डागर्दी, माफियाको विरोध हुनु जरुरी छ ।”
जनकवि चन्द्रबहादुर उलकले शोषणको विरुद्धमा साहित्य लेखी जातीय विभेद, वर्गसङ्घर्ष र जनताको दुःख वेदना हटाउने हुनुपर्ने बताउनुभयो ।
पैतालिसौँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका उपाध्यक्ष लक्ष्मीभक्त लासिवा, तःमुंज्या मूल समितिका अध्यक्ष आशकुमार चिकंबन्जारले पनि बोल्नुभएको थियो ।
आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातांले स्वागत तथा साहित्य समितिका संयोजक लक्ष्मीसुन्दर कर्माचार्यले धन्यवादज्ञापन गरिएको कार्यक्रममा सचिव राजन जतिले पनि बोल्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1


















