बहुआयामिक पर्व गाईजात्रामा सांस्कृतिक विधाको संरक्षण

0
288

भक्तपुर सांस्कृतिक गतिविधि र व्यवहारिक राजधानी हो । यो एउटा खुल्ला विश्वविद्यालय हो । यहाँका संस्कार, संस्कृति, सम्पदा तथा सांस्कृतिक विधाहरु विश्वका जनताहरुको खोजनीतिको विषय हो । यहाँका संस्कार र संस्कृति वैज्ञानिक र प्रकृति अनुकुल छ । वर्षभरि आइरहने लाखौं विदेशी पर्यटकको आगमनले भक्तपुर एक जीवन्त विश्वविद्यालय बन्न पुगेको छ । यसलाई मध्य नजर गरेर भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सापारु तथा गाईजात्राको अवसरमा परम्परागत, आधुनिक तथा ख्याल नाटकतर्फ प्रतियोगितात्मक मूल्यांकन गरि संरक्षण गर्दै आइरहेको छ ।
काठमाडौं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ।
नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट मुक्ति दिलाउन राजा प्रताप मल्लले सुरु गरेको मानिन्छ । तैपनि उनको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको इतिहासमा अध्ययन गर्न सकिन्छ ।
यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन्।

गाईजात्रा के हो?
गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा पनि बृहत छ ।
हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठुउँमा पहेँलो वस्त्र लगाइ घुमाइन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो। साथै मृतकको आत्मा शान्तिका लागि मृतकका नाममा परिवारले रोटी, फलफूल, बिस्कुट लगायत विभिन्न खाद्य पदार्थ दान गर्ने गरिन्छ ।

नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ। ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ।
भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ, जसलाई डोकोसाँ भनिन्छ । यसलाई नगर घुमाउन लैजाने चलन छ। यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई सहजीकरण गर्न यहाँको टोलटोलका मान्छेहरू “तहामचा गना ते ग्वखं प्वाले ते, ग्वखं प्वाले मन्हंसा खुसी च्वय के छ्वय” भनी गिनी त्वङ गिनी त्वङ, घिन्ताङघिसी त्वङ भनेर लठ्ठी जुधाएर माैलिक नाच नाच्छन्।

गाईजात्राको इतिहास
इतिहासमा नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिँदै आएको छ । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो।
“लिच्छवि कालमा साँढे जुधाएर जात्रा गरिन्थ्यो । अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ। त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ।
करिब ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको हुँदा ‘सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा हो भनी इतिहास तथा संस्कृतविद्हरु बताउँछन् ।

भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको इतिहासमा अध्ययन गर्न सकिन्छ ।
राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपेर एउटा धार्मिक आस्थाको रूपमा गाईजात्राको दिन गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता विकास भई संस्कारको रूपमा मनाउने परम्परा संस्कृति बसेको हो । बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर गाईजात्रा मनाइयो।
गाईजात्रा र मृत्युगणना
गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ।
तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो। बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ।

गाईजात्रा एक प्रकारको मृत्यु गणना जात्रा पनि हो। परम्परागत सहर तथा नेवार बस्तीमा वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाईजात्रा घुमाउने बाटोमा दिनभरि बस्दा एकदमै निश्चित र प्रामाणिक तथ्याङ्क आउँछ।
भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शनपछि गाईजात्राको समापन हुन्छ ।
गाईजात्रा र भ्यागुताको पूजा
गाईजात्राको एक दिन अघि जनैपूर्णिमा पर्छ। त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइन्छ। स्थानीय किसानहरू उक्त दिन स्थानीय भाषामा ‘ब्याञ्चायात जा नकेगु’ अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने गरिन्छ ।

गाईजात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो। रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ। खेतमा काम गर्दा जति पनि कीराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमायाचना गर्दै भ्यागुतालाई खाना खुवाउने गरिन्छ ।कीराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ।
गाईजात्रामा क्वाटीको प्रयोग
क्वाटीमा ´क्वाको अर्थ तातो र ´टी को अर्थ झोल हो । गाईजात्रामा नेवार समुदायले रोपाइँ सकेपछि जनैपुर्णिमाको दिन खेती किसानीमा देखा परेका विभिन्न प्रकारका किराफट्याङ्ग्रालाई आफ्नो आहारा बनाएर धान उत्पादन तथा वृद्धिमा उल्लेख्य सहयोग गर्ने भ्यागुतालाई विभिन्न गेडागुडी सहित खाना खुवाउने नेवारी संस्कृति रहेको छ । जसलाई नेवारी भाषामा  `ब्याञ्चायात जा नकेगु’ भनिन्छ । त्यहीँ संस्कृति अनुरुप नेवार समुदायले खेतीकिसानी तथा रोपाइँको क्रममा क्षति भएको वा प्रयोग भएको शक्ति पुनः पाओस् भन्ने उद्देश्यले विभिन्न प्रकारको गेडागुडीको मिश्रणले भरिपूर्ण तातो झोल खाने परम्परा रहेको छ, जसलाई नेवार समुदायले क्वाटी खाने भनिन्छ । जसमा स्थानीय रूपमा उत्पादन भएका चना, केराउ, बकुला, बोडी, सिमी, मुगी, गहुँ, मकै तथा भटमास आदि नाै प्रकारका गेडागुडी प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here