भक्तपुर, साउन २४ — भक्तपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चण्डेश्वरी अजिमाको १२ वर्षे जात्रा यस वर्ष २०८२ साल श्रावण २६ गते सोमबारका दिन धुमधामका साथ आयोजना हुने भएको छ।
हरेक वर्ष धातुबाट निर्मित चासुः अजिमाको जात्रा परम्पराअनुसार मनाइने भए पनि, प्रत्येक १२ वर्षमा गाईजात्रा को भोलिपल्ट चापको काठबाट निर्मित विशेष मूर्तिलाई सानो खटमा राखी भक्तपुर नगर परिक्रमा गराउने प्रथा रहेको छ। चापको काठबाट बनेकी, अस्त्र–शस्त्रले सुशोभित, मयूरवाहन चण्डेश्वरी अजिमाको यो जात्रा भक्तजनको ठूलो आकर्षणको केन्द्र हुने गर्दछ।
इतिहास अनुसार, १२ वर्षे जात्रा २०४२ सालमा पुनः सुरु गरिएको हो। त्यसअघि ३० वर्षसम्म यो विशेष जात्रा सञ्चालन हुन सकेको थिएन। २०४२ सालमा मन्दिरको द्यौछें पुनर्निर्माणपछि धानबालीमा समस्या देखिएपछि जात्रा सुरु गरिएको थियो। त्यसपछि २०५२ सालमा बाढी–पहिरो, २०६२ सालमा मूर्ति चोरी, र २०७२ सालमा महाभूकम्प जस्ता विपत पछि पनि यो विशेष जात्रा सम्पन्न गरिएको छ। कतिपय अवस्थामा १२ वर्षको सट्टा १० वर्षमै जात्रा गर्नुपरेको उदाहरणहरू पनि रहेका छन्।
परम्पराअनुसार, जब भक्तपुर वा मुलुकमा कुनै ठूलो अनिष्ट घट्छ, त्यस बेला पनि चण्डेश्वरी अजिमालाई नगर परिक्रमा गराउने चलन रहिआएको छ। यस वर्षको १२ वर्षे जात्रामा पनि भक्तपुर नगरवासी तथा विभिन्न स्थानका श्रद्धालुहरूको ठूलो सहभागिता हुने अपेक्षा गरिएको छ।
चापको काठबाट बनेको अस्त भुजा भएका चण्डासुरको बध गर्न लागेकी मयूरवाहन भई अन्य भुजामा बिभिन्न हातहतियारबाट सु-सोभित चण्डेश्वरी अजिमाको मुर्तिलाई धुमधामका साथ जात्रा गर्ने चलन रहेको पाइन्छ ।


















